काठमाडौं । नेपाली हास्य टेलिशृंखलाका चर्चित कलाकार विष्णु सापकोटा (हर्के हल्दार) ले आफ्नो अभिनय यात्रा, करिअरमा आएको अवरोध र त्यसले मानसिक अवस्थामा पारेको असरबारे भावुक अनुभव सार्वजनिक गरेका छन्।

उनले ‘५२ घुसे ५३ ठक्कर’ मा गोथे पात्रको भूमिका निर्वाह गरेपछि दर्शकमाझ लोकप्रियता बढेको बताए। तर, मिडिया हबका सोम धितालसँग भएको सम्झौतापछि आफूले उक्त पात्र अन्यत्र अभिनय गर्न नपाउने अवस्था आएको उनको दाबी छ।

सापकोटाका अनुसार सम्झौतामा गोथे पात्र अन्य माध्यममा खेल्न नपाउने सर्त राखिएको थियो। तर, सम्झौतापछि करिब दुई वर्षसम्म सम्बन्धित टेलिशृंखला प्रसारणमा नआउँदा आफूले न त्यही पात्रलाई निरन्तरता दिन पाएँ, न अन्य माध्यममा काम गर्न सकेँ।

उनले यही परिस्थितिका कारण दर्शकमाझ बनिसकेको आफ्नो पहिचान कमजोर हुँदै गएको र अभिनय यात्रामा ठूलो असर परेको अनुभव सुनाए।

त्यस समय आफू दुई–तीन रातसम्म निदाउन नसकेको, एक्लै बस्न मन लाग्ने, खाना खान इच्छा नहुने र मानिसहरूसँग बोल्नसमेत मन नलाग्ने अवस्थामा पुगेको उनले बताए। अहिले ती अनुभव सम्झँदा आफू डिप्रेसनको अवस्थाबाट गुज्रिएको महसुस हुने उनको भनाइ छ।

सोम धितालसँगको व्यवहारबाट आफूले ठूलो मानसिक चोट पाएको सापकोटाको दाबी छ। यद्यपि, उनले सुनाएका आरोपबारे धितालको प्रतिक्रिया यस विवरणमा समेटिएको छैन।

7
Shares
१२ मंसिर २०८३, शुक्रबार १६:५७