विराटनगर । साँघुरो र दुर्गन्धित कोठा । निकै फोहर देखिने कोठामा थोत्रा र पुराना सामान थन्क्याइएको छ । स्वस्थ र सहज वातावरण नहुँदा अभ्यास गर्न कठिन छ । तर पनि तयारी गर्नुछ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धीको सामना गर्न ।

यस्तो अवस्था हो– विराटनगरको सहिद मैदानको। त्यहाँ रहेको कभर्ड हलमा खेलाडीले अभ्यास गर्दै आएका छन् । सानो र दुर्घन्धित कोठामा फोहर र थोत्रा सामग्रीका बीच उनीहरु अभ्यासमा जुटिरहेका छन् ।

प्रदेश १ सरकारले १४ जिल्लाबाट खेलाडी चयन गर्दै नवौं राष्ट्रिय खेलकुदको तयारी गरिरहेको छ । खेलको यो महोत्सवका लागि सरकारले ठूलो रकम लगानी गर्दैछ । यसो भए पनि खेलाडी र प्रशिक्षकले सहयोग पाउन सकेका छैनन् । उनीहरु आफ्नै भरमा पोखरामा उत्रने जमर्को गरिरहेका छन् । खेलाडीलाई चाहिने आवश्यक सामग्री त छैन नै, सरोकारवाला निकायबाट प्रोत्साहन पनि मिलेको छैन ।

प्रतियोगिता र खेलकुदका समयमा मात्र जिम्नास्टिक प्रशिक्षकको जिम्मेवारी वहन गर्दै आएका विराटनगरका अनिल ठाकुर सीमित स्रोत र साधनका बावजुद प्रदेशको शिर उच्च गर्ने प्रयासमा रहेको बताउँछन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि एक महिनासम्म प्रशिक्षकको जिम्मवारी पाएका ठाकुरले पोखरामा जिम्नास्टिकका सीमित इभेन्टमा स्पर्धा गर्ने तयारीमा रहेको बताए । उनका अनुसार प्रदेश १ बाट पोखरामा पोमेल हर्स, रिङ, होरिजेन्टल बार लगायतका इभेन्टमा प्रतिस्पर्धा हुने छैन ।

‘केन्द्र सरकारदेखि प्रदेश सरकारसमक्ष पटक–पटक खेलका लागि आवश्यक सामग्री माग्यौं तर आउन सकेन । तयारीका लागि सीमित समय, अनि खेलका सामग्री समेत नहुँदा प्रतिस्पर्धा गर्न सकिन्न’ उनले भने ।

पोमेल हर्ष, होरिजेन्टल बार, रिङ् लगायत इभेन्टमा सहभागी हुने अवस्था नरहेको ठाकुरको भनाइ छ । ‘खेलाडीलाई ती इभेन्ट खेलाउन हामीसँग सामग्री नै छैन’ उनले भने, ‘रित्तो हात कसरी प्रतिस्पर्धा गर्ने ?’

ठाकुरले एक महिना अघिबाट खेलकुदका लागि खेलाडी तयार गर्न सुरु गरेका हुन् । तयारीका लागिसमेत कम समय रहेको उनी बताउँछन् । पोखरा प्रस्थान गर्नु एक साताअघि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने भएको छ ।

विराटनगरको सहिद मैदानस्थित कभर्ड हलमा खेलाडीले अभ्यास गर्दै आएका छन् । कभर्ड हलको सानो र दुर्घन्धित कोठामा फोहर र थोत्रा सामग्रीका बीच उनीहरु अभ्यासमा जुटिरहेका छन् ।

उक्त कोठामा जिम्नाष्टिकसँगै उसु, शारीरिक सुगठन र भारोत्तलनको प्रशिक्षण भइरहेको छ । अभ्यासमा जुटेका एक खेलाडीले भने, ‘अरु सबै खेलको अभ्यास सुरु हुन थालेपछि जिम्नास्टिकका खेलाडी कोठाबाहिर खुला आकाशमा प्रशिक्षणमा जुट्नुपर्ने अवस्था छ ।’

प्रदेश र विभागीय टोलीबीच हुने राष्ट्रिय प्रतियोगिताका लागि तयारीमा जुटिरहेका खेलाडीलाई सामग्री अभावबीच ट्रयाक्टरको टायर र उसुको म्याटमा जेनतेन अभ्यास गराउनु परेको प्रशिक्षकहरुको भनाइ छ ।

हाल प्रशिक्षणमा रहेका अधिकांश खेलाडी पहिलोपटक राष्ट्रियस्तरमा सहभागी हुन लागेका छन् । प्रशिक्षक ठाकुरले भने, ‘उनीहरुले अन्य प्रदेश र विभागीय टोलीसँग कस्तो प्रतिस्पर्धा गर्नेछन् र नतिजा कस्तो आउनेछ भन्ने विषय हामीलाई थाहा छ । तर, पनि हामी शतप्रतिशत लगावका साथ मैदानमा उत्रिनेछौ ।’

जिम्नास्टिकबाट पोखरामा ६ जना महिला र ६ जना पुरुष गरी १२ जना खेलाडीले सहभागिता जनाउने छन् । पोखरामा फ्लोर्स, प्यारालेल बार, र लङ हर्षमा प्रतिस्पर्धा हुने छ ।

56
Shares
२ आश्विन २०७९, आईतवार ०६:२९