विराटनगर । झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिएको आशंकामा महानगरको एउटा निजी विद्यालयका सञ्चालकमाथि अनुसन्धान सुरू भएको छ ।
भारतीय नागरिक भएर असत्य विवरण पेस गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुसन्धान सुरु गरेको हो ।
विराटनगर महानगरपालिका–१५ स्थित मदर मेरिज इङ्लिस स्कुलका सञ्चालक ५५ वर्षीय देवप्रकाश रायमाथि अनुसन्धान सुरु भएको हो । उनलाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएर प्रशासनको जिम्मा लगाएको थियो ।
देवप्रकाशले ३३ वर्षअघि वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको प्रशासनको तथ्याङ्कमा छ । सुनसरीको अमडुवा–३ ठेगाना राखेर बाबुको नाम टेकनारायण राय उल्लेख गर्दै १८६४/८० नम्बरको नागरिकता २०४६ जेठ २८ गते उनको नाममा जारी भएको छ । नागरिकतामा उल्लेख भएको ठेगाना हाल सुनसरीको बर्जु गाउँपालिका–४ मा पर्छ ।
देवप्रकाशले झन्डै अढाई दशकदेखि विराटनगरमा निजी विद्यालय सञ्चालन गरिरहेका हुन् । २०५५ सालदेखि सञ्चालन गरिएको विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुन्छ ।
बाबु टेकनारायण भारतीय नागरिक भएको खुलेपछि प्रशासनले देवप्रकाशको नाममा जारी भएको नेपाली नागरिकतामाथि छानबिन थालेको हो ।
टेकनारायणको नाममा भारतको बिहार फारबिसगञ्ज, अररियास्थित जोगबनीमा कित्ता नम्बर २७३६ र २७३७ को जग्गाको जग्गाधनी प्रमाण पूर्जा छ ।
भारतीय भएर नेपाली नागरिकता लिएको आरोप लागेका देवप्रकाश राय ।
राजस्व थाना नम्बर १७६ र तौजी नम्बर २४ का आधारमा उनको परिवारले घर र जग्गासमेतका सम्पत्तिको राजस्व तिर्दै आएको प्रमाणित डिष्ट्रिक रेकर्ड रुम अररियाले गरिदिएको छ ।
बिहार सरकार राजस्व एवं भूमिसुधार विभागले पनि बाबुको नाममा जोगबनीमा २७ कट्ठा जग्गा रहेको प्रमाणित गरिदिएको छ । देवप्रकाशले भने झुटो विवरण पेस गरी बाबुको नाम पनि एउटै उल्लेख गरेर नागरिकता लिएको हुनसक्ने प्रशासनले जनाएको छ ।
प्रशासनको प्रारम्भिक छानबिनबाट सुनसरीमा देवप्रकाशको पैतृक सम्पत्ति र पुरानो बसोबास नरहेको पाइएको छ । स्रोतका अनुसार भारतीय नागरिकले नेपाली नागरिकता लिएर नेपालमा लामो समयदेखि निजी विद्यालय सञ्चालन गरिरहँदा पनि राज्य संयन्त्र भने बेखबर छन् । प्रशासनसँग ‘सेटिङ’ मिलाएरै उनलाई नेपाली नागरिकता दिलाइएको हुनसक्ने स्रोतको दाबी छ ।
दिनभर नेपालमा विद्यालय सञ्चालन गर्ने र राति बास बस्न भने उनी भारतको जोगबनीतिरै जाने गरेको उनीनिकट स्रोतले बतायो । देवप्रकाशकी पत्नी प्रीतिदेवी रायको नाम भारतीय मतदाता नामावलीमा समावेस छ ।
भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा रहेका देवप्रकाशका परिवारका सदस्यको मतदाता परिचयपत्र ।
भारतीय निर्वाचन आयोगले प्रीतिदेवीको नाममा ‘जी वाई क्यू ५४६६२५५’ नम्बरको भारतीय मतदाता परिचयपत्र जारी गरेको छ । भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिकतासमेत प्राप्त गरेको सूचना पाएको प्रशासनले उनीमाथि पनि छानबिन सुरु गर्ने तयारी थालेको छ ।
देवप्रकाशका दाजु श्रीप्रकाश तथा भाइहरु देवेन्द्रप्रकाश र भानुप्रकाश भारतीय नागरिक हुन् । श्रीप्रकाशको नाममा टीएफएस ०६०९२६३, देवेन्द्रप्रकाशको जी वाई क्यू ५७३६८०६ र भानुप्रकाशको नाममा बी आर/२२/१२९/५९७५८४ नम्बरको भारतीय मतदाता परिचयपत्र छ । भारतीय मतदाता नामावलीमा सबैका बाबुको नाम टेकनारायण राय नै उल्लेख छ ।
भारतको बिहारको अररिया भाग–१८ अन्तर्गत श्रीप्रकाशको ३६४, देवेन्द्रको ३६३, भानुप्रकाशको ३६६ तथा देवप्रकाशकी पत्नी प्रीतिदेवीको ३६५ निर्वाचन सिरियल नम्बर छ ।
उनीहरु बिहार राज्यको अररिया जिल्लाअन्तर्गत उच्च विद्यालय जोगबनीको दक्षिण भागका मतदाता हुन् । देवप्रकाशको भने भारतीय नागरिक प्रमाणित हुने कागजात फेला पर्न बाँकी रहेको प्रशासनले जनाएको छ । खोजी भइरहेको जनाइएको छ ।
विराटनगर–१५ मा देवप्रकाशले सञ्चालन गरेको मदर मेरिज इङ्लिस स्कुल ।
‘परिवारका सबै सदस्य भारतीय हुने र एक जनाचाहिँ नेपाली नागरिक हुने सम्भावना नै छैन,’ प्रशासनका एक अधिकृतले भने, ‘भारतीय नागरिक स्थापित हुने आधार खोज्दैछौँ ।’
उनका अनुसार देवप्रकाशले नागरिकता प्राप्त गरेको स्थानबाट उनी नेपालमा जन्मिएका हुन् र उनका परिवार नेपाली नै हुन् भन्ने कुनै आधार प्राप्त हुन सकेन ।
भारतीय नागरिक हुन् र पछि वंशजको आधारमा नेपाली नागरिकता लिए भन्ने बारेमा भने धेरै आधारहरु भेटिएको ती अधिकृतको भनाइ छ ।
‘नेपालमै नजन्मिएको मान्छेले कसरी वंशजको नागरिकता पाए भन्ने बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘बाबु भारतीय हुँदाहुँदै झुटो विवरण पेस गरेर नागरिकता ऐन २०२० अनुसार नेपाली नागरिकताको प्रमाणपत्र लिएको आशंका छ ।’
भारतीय पक्षले प्रमाणित गरिदिएको देवप्रकाशका परिवारको नाममा भारतमा रहेको जग्गाको धर्नीपूर्जा ।
देवप्रकाशले लिएको नेपाली नागरिकताविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न १७ वटा निकायमा गत भदौ २८ गते उजुरी परेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीयले नेपाली नागरिकता लिएको उजुरी परेपछि छानबिन एवं अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
‘उजुरी परेपछि आवश्यक प्रमाण संकलन गरेर बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘भारतीयले नेपाली नागरिकता प्राप्त गरेको विषयलाई गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको छ ।’
प्रशासनकै आग्रहमा प्रहरीले देवप्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि बुझाएको यादवले बताए । ‘तत्काललाई प्रारम्भिक चरणको छानबिन गरेर तारेखमा छाडिएको छ,’ उनले भने, ‘अरु प्रमाण संकलन गरेपछि थप कुरा बुझ्नु परेमा बोलाइने छ ।’
देवप्रकाशले भने प्रशासनले छानबिन सुरु गरेकाले आफूले ‘धेरै कुरा बोल्न नमिल्ने’ बताए ।
देवप्रकाशका नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र ।
प्रशासनकै भूमिकामा शंकास्पद
भारतीय नागरिकले नेपाली नागरिकता लिएको विषयमा छानबिन एवं अनुसन्धान गर्दा प्रशासनकै भूमिकामा प्रश्न उठ्ने गरेको छ ।
पछिल्लो यो घटनामा पनि प्रशासनको भूमिका शंकास्पद देखिएको छ । नागरिकतासँग सम्बन्धित विषय प्रशासनले हेर्ने हो । तर नेपाली नागरिकता लिएको आरोप लागेका व्यक्तिलाई प्रमाण नष्ट गर्ने मौका प्रशासनले दिएको स्रोतले बतायो ।
‘भारतीयले नेपाली नागरिकता लिएको प्रष्ट हुँदाहुँदै सामान्य हिसाबले छाडिएको छ । मिलेमतोमा प्रमाण नष्ट गर्ने पर्याप्त समय दिइयो,’ प्रशासन स्रोतले भन्यो, ‘अरु धेरै प्रमाणले उनी भारतीय नागरिक हुन् भन्ने प्रष्ट छ । थप प्रमाण जुटाउन हिरासतमा लिएर अनुसन्धान अघि बढाउनुपर्नेमा मिलेमतो गरेर छाडियो ।’
राष्ट्रियतासँग जोडिएको संवेदनशील विषयको अनुसन्धानमा प्रशासनले ठूलै लापरबाही गर्ने गरेको एक अधिकृत बताउँछन् । उनका अनुसार नागरिकता दिलाउने आफ्ना कर्मचारी कारबाहीमा पर्ने भएकाले प्रशासनले अनुसन्धान नै प्रभावित पार्ने प्रयास गर्ने गरेका धेरै उदाहरण छन् । अनुसन्धान सुरु गरिएका व्यक्ति फरार भएमा पक्राउ गर्न पनि गाह्रो हुन्छ ।
विदेशी नागरिकलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
कानुन अनुसार झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएका विदेशी नागरिकलाई १ वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुन्छ । कुनै अचल सम्पत्ति भए सरकारले जफत गर्छ । नेपाली नागरिकता रद्द हुन्छ ।