आजको युग सूचनाको युग हो। ‘ज्ञान नै शक्ति हो’ भन्ने भनाइ समय क्रममा ‘सूचना नै शक्ति हो’ भन्नेमा परिवर्तित भइसकेको छ। सूचनाबिनाको समाजको परिकल्पना गर्न सकिँदैन। व्यक्तिगत विकासदेखि समग्र मुलुकको विकासमा सूचनाको महत्वपूर्ण भूमिका हुन्छ। विश्वले सूचनालाई नै ज्ञानको रूपमा आत्मसात् गरेको छ।

यही सत्यलाई आत्मसात् गर्दै आम पाठक एवं दर्शकसमक्ष सही सूचना प्रवाह गर्ने दायित्वका साथ हामी आएका छौं। ‘एएमजी टाइम्स’ मार्फत् हामी सूचनाका साथसाथै मनोरञ्जन, ज्ञानबर्द्धक कुराहरु लेखन र श्रव्यदृश्यका माध्यमले निरन्तर पस्किरहने छौं।

लोकतान्त्रिक राज्यव्यवस्थाको विशेषता भनेको नागरिकप्रति जवाफदेही र जिम्मेवार हुनु हो। जवाफदेही र जिम्मेवार सरकार हुन सरकारका काम कारबाहीमा जनताको पहुँच हुनुपर्दछ।

सरकारको काम कारबाहीलाई जनताले मूल्यांकन गर्न पाउनुपर्दछ। लोकतान्त्रिक मुलुकमा असल शासन वा सुशासन कायम गर्न सरकार कत्तिको सफल छ भन्ने कुराको आवधिक जाँच र परीक्षण गर्ने अधिकार जनतामा हुन्छ।

यसैले खुला र पारदर्शी संस्कृतिको मान्यताअनुरूप सार्वजनिक निकायलाई जिम्मेवार र उत्तरदायी बनाउन त्यस्ता निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा जनताको सहज पहुँच आवश्यक हुन्छ। यसका लागि हामी सेतु बन्ने प्रयत्न गर्नेछौं।

जनताका प्रतिनिधिहरुको तल्लो निकायदेखि माथिल्लो तहसम्मका काम, कारबाही अनि सेवा प्रवाहमा देखिएका विकृति हामी सार्वजनिक गर्नेछौं। सुधारका पक्षहरु पनि सुझाउने छौं। अनियमितता र भ्रष्टाचारविरुद्ध हामी निडर भएर लागिरहने छौं। त्यस्ता विषय उजागर गर्दै सरोकारवाला निकायलाई जिम्मेवार र पारदर्शी बनाउने प्रयास रहनेछ। कोही व्यक्ति, समुदाय र संस्थाले गरेका सकारात्मक कामहरु पनि हाम्रो विषयवस्तु हुनेछ।

आर्थिक क्षेत्र, कला, संस्कृति, खेलकुदका गतिविधि हाम्रो प्राथमिकतामा पर्ने छन्। विविधतायुक्त हाम्रो समाजमा रहेका मौलिक संस्कृतिका कुरादेखि राज्यबाट उपेक्षित बनेका समुदायका समस्या उजागर गर्नेछौं।

जनसरोकारका सवाल हामी निसंकोच उठाइरहने छौं। कुनै वाद, विचारबाट प्रभावित नभइ स्वतन्त्र, निष्पक्ष र सन्तुलित सामग्रीहरु प्रस्तुत गर्ने हाम्रो प्रतिवद्धता छ। हाम्रो यो प्रतिवद्धतालाई भरथेग गर्न आम पाठक र दर्शकबाट साथको अपेक्षा गर्दछौं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु