विराटनगर । आमनिर्वाचन २०७९ अन्तर्गत मोरङका प्रतिनिधिसभा क्षेत्र ६ तथा प्रदेशसभाका १२ क्षेत्रमा उम्मेदवारी दिएकामध्ये १६६ जनाको जमानत जफत भएको छ ।

तीमध्ये प्रतिनिधिसभातर्फ ८७ जना उम्मेदवारको जमानत जफत भएको छ भने प्रदेशसभातर्फ ७९ जनाको जमानत जफत भएको प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले बताए ।

यसपटक प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवार दर्ता शुल्क तोकिएको थियो । तोकिएको रकममध्ये महिला, दलित, अल्पसंख्यकको हकमा ५० प्रतिशत उम्मेदवार दर्ता शुल्क छुट दिइएको थियो ।

धरौटी रकम जोगाउन नसक्नेमा नेकपा (एमाले) नेपाली कांग्रेस, माओवादी केन्द्रबाहेक अन्य साना दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार छन् । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको केही स्थानमा बाहेक जमानत जफत भएको छ ।

मोरङका ६ क्षेत्रमा गरी प्रतिनिधिसभातर्फ १०५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । तीमध्ये ११ जना महिला र ९४ जना पुरुष थिए ।उम्मेदवारी दिनेमा राजनीतिक दलका तर्फबाट ६१ र स्वतन्त्र उम्मेदवारी दिनेको संख्या ४४ थियो ।

प्रदेशसभातर्फ १२ क्षेत्रमा ११० जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ९ महिला र १०१ जना पुरुष थिए । राजनीतिक दलका तर्फबाट ८४ र स्वतन्त्र उम्मेदवारी दिने २६ जना थिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा भनिएको छ, ‘निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ। निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू हुने छैन ।’

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने कानुनमा उल्लेख छ।

ऐनमा उल्लेख गरिएअनुसार धरौटी जफत हुने अवस्थामा बाहेक अन्य उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी निर्वाचन परिणाम घोषणा भएको मितिले ९० दिनभित्र फिर्ता लिनुपर्ने हुन्छ । तोकिएको समयभित्र फिर्ता नलिएमा धरौटी रकम सञ्चित कोषमा दाखिला हुने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मोरङ १ बाट उम्मेदवारी दिएका ११ जनाको जमानत जफत भएको छ ।

मोरङ २ मा ११, ३ मा २८, ४ मा १३, ५ मा १३ तथा क्षेत्र नम्बर ६ मा ११ जनाको जमानत जफत भएको छ ।

मोरङ १ मा प्रतिनिधिसभातर्फ खसेको मतमध्ये ७० हजार ६७६ मत सदर भएको थियो । मोरङ २ मा ७५ हजार ६६६ मत सदर भएको थियो भने मोरङ ३ मा ९२ हजार २०२ मत सदर भएको थियो ।

यस्तै मोरङ ४ मा ७० हजार २८३ मत सदर भएको थियो । क्षेत्र ५ मा ६७ हजार ३८० मत सदर भएको थियो । मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यतर्फ ८० हजार ४२६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएकामध्ये मोरङ १ (क) मा ३ जना, (ख) मा ५, मोरङ २ (क) मा १० र मोरङ २ (ख) ८ जनाको जमानत जफत भएको छ ।

मोरङ ३ (क) मा ४, (ख) मा १०, मोरङ ४ (क) ५, (ख) मा ६, मोरङ ५ (क) मा ३ र मोरङ ५ (ख) मा ७ जनाको जमानत जफत भएको छ ।

यस्तै मोरङ ६ (क) मा १० तथा मोरङ ६ (ख) मा ८ जना उम्मेदवारको जमानत जफत भएको छ ।

यी हुन् प्रतिनिधिसमा सदस्य निर्वाचनमा जमानत जोगाउन नसक्नेहरू

प्रतिनिधिसभा सदस्यमा मोरङ १ बाट उम्मेदवारी दिएका राप्रपाका होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीका लक्ष्मीप्रसाद कर्वा, राष्ट्रिय जनमुक्ति पार्टीकी बुद्धिमाया लिम्बू, मंगोल नेशनल अर्गनाइजेसन (मंनेअ) का सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हर्कमान सम्बाहाम्फे, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल र स्वतन्त्र उम्मेदवारहरु मनिासा सुवेदी, यामप्रसाद दाहाल, फूलकुमारी पण्डित राई, निलु लिम्बू र तिलकबहादुर मगरले जमानत जोगाउन सकेनन् ।

यसैगरी मोरङ २ मा उम्मेदवारी दिएका राप्रपाका गोपाल दाहाल, नेमकिपाका सुरेश कर्वा, मंनेअका नारायण बिसंखे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खड्का, हाम्रो नेपाली पार्टीका विनोदमणि भट्टराई, नेशनलिस्ट पिपल्स पार्टीकी मीना कटुवाल बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नारायणप्रसाद सेढाइँ र स्वतन्त्र उम्मेदवारहरु विश्वेश्वर ऋषिदेव, सुनीलकुमार साह र राजकुमार सिवाकोटीले जमानत जोगाउन सकेनन् ।

मोरङ ३ बाट नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) का उद्धिमबहादुर खड्का, नेशनलिस्ट पिपल्स पार्टीका नारायण शर्मा, मंनेअका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रिकादेवी लिम्बू, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, जनसमाजवादी पार्टी नेपालका कमल लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेती, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका भुवन राई र नेमकिपाका ओमनारायण  धामीले जमानत जोगाउन सकेनन् ।

उक्त क्षेत्रका स्वतन्त्र उम्मेदवारहरु हिमप्रसाद मिश्र, कृष्ण राई, शिवकुमार पौडेल, पंकजकुमार भगत, अरबिन शाह, कमल राजवंशी, इन्दिरा थापा, इन्द्रप्रसाद सुवेदी, जयराज संयोग, जीवनाथ निरौला, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, दिनेश चापागाईँ, गणेशबहादुर पोखरेल, सुवा धिमाल, चन्द्रकला खत्री, धर्मप्रसाद न्यौपाने, प्रकाश भट्टराई, सुरेश भण्डारीले पनि जमानत जोगाउन सकेनन् ।

यसैगरी मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका नेमकिपाका श्यामबहादुर दर्जी, मंनेअका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुल्टेन रिषिदेव, हाम्रो नेपाली पार्टीका नवीनकुमार विश्वास खवास, नेपाली कांग्रेस (बीपी) का अशोक पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मण साहु र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटीले जमानत जोगाउन सकेनन् ।

उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका महेश नेपाल, देवनारायण विश्वास, कुवेत मियाँ, ज्ञानेन्द्र खत्री र पदम कार्कीको पनि जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङ क्षेत्र नम्बर ५ मा राप्रपाका रेवतबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मंगल ऋषिदेव, हाम्रो नेपाली पार्टीका फिरोजकुमार साह, जनमत पार्टीका परमेश्वर मर्मु, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार मण्डल, नेपाल लोकतान्त्रिक पार्टीका मजबुल रहमान मियाँ मुस्लिमले जमानत जोगाउन सकेनन् ।

सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने मोहमद रेजा हुसैन, मन्जु शर्मा बडइ, रमेशकुमार यादव, गयानन्त मण्डल केवरत, विद्याभूषण प्रसाद, रामप्रसाद मुखिया र मनोजकुमार मण्डलले पनि जमानत जोगाउन सकेनन् ।

मोरङ ६ बाट जमानत जोगाउन नसकेकाहरुमा नेमकिपाका चिरञ्जीवी खतिवडा, बहुजन शक्ति पार्टीका नारायण पासवान, मंनेअका मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनमत पार्टीका बुद्धिराम माझी, जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर र स्वतन्त्र उम्मेदवारहरु सुशील खड्का, सरोज नेपाल र लक्ष्मी थेवे छन् ।

प्रदेशसभातर्फ जमानत जोगाउन नसक्नेहरु

मोरङ १ (क) बाट जमानत जोगाउन नसक्नेहरुमा मंनेअका शिवकुमार राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अर्जुन सिंह लिम्बू र स्वतन्त्र उम्मेदवार खड्गबहादुर थापा छन् ।

मोरङ १ (ख) बाट उम्मेदवारी दिएकामध्ये राप्रपाका सन्तोष कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका टंकबहादुर गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कृष्णकुमार लिम्बू, मंनेअका ओमनाथ लिम्बू र स्वतन्त्र उम्मेदवार दीपक राईले जमानत जोगाउन सकेनन् ।

मोरङ २ (क) मा राप्रपाका श्रीमान्त पोद्दार, मंनेअका पदमबहादुर घिसिङ, संघीय लोकतान्त्रिक मञ्चका बलबहादुर लिम्बू, हाम्रो नेपाली पार्टीका प्रेमनारायण थापा, लोकतान्त्रिक समाजवादी पार्टीका महफजु आलम र स्वतन्त्र उम्मेदवारहरु साहजाँ प्रविन, फणिन्द्र थापा, सुरजकुमार गनगाई र शमसेरबहादुर कार्कीले पनि जमानत जोगाउन सकेनन् ।

मोरङ २ (ख) मा राप्रपाका राजेन्द्र अधिकारी, मंनेअका रविन्द्रकुमार श्रेष्ठ, स.घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुदेशी ऋषिदेव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका माधवप्रसाद राजवंशी, नेपाल लोकतान्त्रिक पार्टीका महमद कमलु मियाँ, जनमत पार्टीका प्रल्हाद राजवंशी र स्वतन्त्र उम्मेदवारहरु राजेन्द्र शर्मा र विष्णुबहादुर थापाले जमानत जोगाउन सकेनन् ।

यसैगरी मोरङ ३ (क) बाट मंनेअका रामचन्द्र गुरुङ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल का रामभक्त विश्वास राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिनेश राई र स्वतन्त्र उम्मेदवार धनबहादुर कार्कीले जमानत जोगाउन सकेनन् ।

मोरङ ३ (ख) बाट उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका चन्द्रकुमार सुब्बा, मंनेअका विश्वबन्धु तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रि मञ्चका रामकुमार लिम्बू, हाम्रो नेपाली पार्टीका पुष्पराज खनाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नीरबहादुर भुजेल, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका तेजप्रसाद राई र स्वतन्त्र उम्मेदवारहरु नीरकुमार बुढाथोकी, गुरुप्रसाद बाँस्तोला, यामकुमार श्रेष्ठ र ऐश्वर्यप्रसाद आचार्यले पनि जमानत जोगाउन सकेनन् ।

मोरङ क्षेत्र नम्बर ४ (क) बाट राप्रपाका आशनारायण माझी थारु, मंनेअका विश्व राई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी हेमन्तीकुमारी सुतिहार, हाम्रो नेपाली पार्टीका नन्दकुमार सरदार र स्वतन्त्र उम्मेदवार प्रद्युम्न चौधरीले जमानत जोगाउन सकेनन् ।

यस्तै मोरङ ४ (ख) बाट मंनेअका शुभराज राई, हाम्रो नेपाली पार्टीका प्रवेश पाण्डे, जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार सिंह राजपुत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नासिन खातुन र स्वतन्त्र उम्मेदवारहरु भीमबहादुर राजवंशी र पशुपतिकुमार माझीले जमानत जोगाउन सकेनन् ।

मोरङ ५ (क) बाट उम्मेदवारी दिएका राप्रपाकी सोनलकुमारी गुप्ता साह, जनमत पार्टीका अनिलकुमार झा र स्वतन्त्र उम्मेदवारी दिएका कलानन्द साह सुडीले पनि जमानत जोगाउन सकेनन् ।

मोरङ ५ (क) बाट उम्मेदवारी दिने राप्रपाका राजेशकुमार बानियाँ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनेश्वर रिषिदेव मुसहर, हाम्रो नेपाली पार्टीकी बसन्तीदेवी यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रामवती साह, जनमत पार्टीका आनन्दलाल यादव र स्वतन्त्र उम्मेदवारहरु रामलाल सुतिहार र नरेशकुमार लाभले जमानत जोगाउन सकेनन् ।

यसैगरी मोरङ ६ (क) बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नरबहादुर लिम्बू, हाम्रो नेपाली पार्टीका ईश्वर गुरुङ, नेपाली कांग्रेस (बीपी) का हरिनारायण तबदार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सोनम सहनी, नेपाल लोकतान्त्रिक पार्टीका अनंग चौधरी र स्वतन्त्र उम्मेदवारहरु रुक्मणी खवास चौधरी, पुण्यप्रसाद कोइराला, रामसागर चौधरी र नवीन दाहालले जमानत जोगाउन सकेनन् ।

मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा क्षेत्र (ख) बाट बहुजन शक्ति पार्टीका अमृतकुमार पासवान, नेपाली कांग्रेस (बीपी) का जनार्दन राम निरौला, स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोपालप्रसाद रेग्मी, सामाजिक एकता पार्टीका रिवाजुद्दिन मियाँ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तवरेज अख्तर आलम, जनता समाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद गुप्ता, नेपाल सद्भावना पार्टीका पन्नालाल राजवंशी र जनमत पार्टीका राम आशिष महतोले पनि जमानत जोगाउन सकेनन् ।

यी हुन् विजयी

प्रतिनिधिसभा सदस्यमा क्षेत्र १ मा कांग्रेसका डिगबहादुर लिम्बु, क्षेत्र २ मा एमालेका ऋषिकेश पोखरेल, क्षेत्र ३ मा कांग्रेसका सुनिलकुमार शर्मा, क्षेत्र ४ मा माओवादी केन्द्रका अमनलाल मोदी, क्षेत्र ५ मा स्वतन्त्रबाट योगेन्द्र मण्डल र क्षेत्र ६ मा कांग्रेसका शेखर कोइराला निर्वाचित भएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र १ (क) मा एमालेका उमाकान्त गौतम, क्षेत्र १ (ख) मा एमालेका खडगबहादुर बस्नेत, क्षेत्र २ (क) मा माओवादी केन्द्रका गणेश उप्रेती, क्षेत्र २ (ख) मा एमालेका लिलाबल्लभ अधिकारी, क्षेत्र ३ (क) मा कांग्रेसका मानबहादुर राई, क्षेत्र ३ (ख) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् ।

यस्तै, क्षेत्र ४ (क) मा एमालेका जयप्रकाश चौधरी, क्षेत्र ४ (ख) मा कांग्रेसका भीम पराजुली, क्षेत्र ५ (क) मा कांग्रेसका गयानन्द मण्डल, क्षेत्र ५ (ख) मा कांग्रेसका अमृत अर्याल, क्षेत्र ६ (क) मा माओवादी केन्द्रका जीवन आचार्य र क्षेत्र ६ (ख) मा कांग्रेसका केदार कार्की निर्वाचित भएका छन् ।

उम्मेदवारले कति राख्छन् धरौटी ?

गत मंसिर ४ गतेको प्रतिनिधिसभा उम्मेदवारका लागि १० हजार धरौटी निर्धारण गरिएको थियो । विगतको तथ्यांक हेर्ने हो भने हरेक निर्वाचनमा धरौटी रकम बढ्दै गएको देखिन्छ ।

२०१८ सालको गाउँपञ्चायत निर्वाचनमा उम्मेदवार बन्न २ रुपैयाँ धरौटी तोकिएको थियो । त्यतिबेला सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएमा उक्त धरौटी जफत हुने व्यवस्था थियो ।

२०२० सालको गाउँ पञ्चायत निर्वाचनमा धरौटी रकम बढाएर ५ रुपैयाँ पुर्‍याइयो । त्यतिबेला सदर मतको (६ भागको एक भाग) मत नल्याए धरौटी जफत हुन्थ्यो ।

२०१० सालको नगरपालिका निर्वाचनमा देशभरि गरी २६ जना उम्मेदवारको धरौटी जफत भएको थियो । अचेल आजभोलि हजारौं उम्मेदवारको धरौटी जफत हुने गरेको छ । धरौटी रकम सरकारको सञ्चित कोषमा जम्मा हुन्छ ।

२०४८ को आम निर्वाचनमा उम्मेदवारलाई धरौटी शुल्कबापत ३ हजार रुपैयाँ तोकिएको थियो । २०५१, २०५६, २०६४, २०७० सालमा समेत लागू भयो । यो धरौटी शुल्क जुनसुकै क्षेत्रबाट पनि उम्मेदवार भएकालाई लागू गरिएको थियो।

२०४८ सालको आमनिर्वाचनमा ७ सय ५१ जना उम्मेदवारको धरौटी जफत भएको थियो । उक्त उम्मेदवारबाट ३ हजार शुल्कको दरले सो अवधिमा आयोगले २२ लाख ५३ हजार रुपैयाँ धरौटीमार्फत जफत गरेको थियो ।

यसैगरी २०५१ मा ८ सय ९ जनाबाट २४ लाख २७ हजार रुपैयाँ धरौटीबापत जफत गरेको थियो। यसपछि २०५६ सालमा १ हजार ५ सय २७ जना उम्मेदवारको धरौटी जफतबाट ४५ लाख ८१ हजार रुपैयाँ असुल भएको थियो ।

यसपछि २०६४ सालमा ३ हजार १ सय ५९ को धरौटी जफतबाट ९४ लाख ७७ हजार रुपैयाँ उठेको थियो । यस्तै, २०७० को आमनिर्वाचनमा ५ हजार ३ सय ३२ जनाको १ करोड ५९ लाख ९६ हजार बराबरको धरौटी रकम जफत भएको थियो ।

210
Shares
१३ मंसिर २०७९, मंगलवार १२:४९