विराटनगर । मोरङ क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका डिकबहादुर लिम्बू विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

लिम्बूले २७ हजार २ सय ९७ मत प्राप्त गरे भने खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याए ।

मतगणनाका क्रममा निरन्तर खतिवडाले अग्रता कायम राख्दै आएका थिए । अन्तिम समयमा लिम्बूले उनलाई उछिनेका हुन् ।

विजयी र निर्वाचित यी दुई नेता निरन्तरका प्रतिस्पर्धी हुन् । २०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा प्रधानपञ्चको रुपमा उम्मेद्वार बनेका खतिवडा थोरै मतले पराजित बनेका थिए ।

२०४९ सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भएका थिए । काँग्रेसका लिम्बूलाई खतिवडाले २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालिन लेटाङको गाविस अध्यक्षमा पराजित गरेका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा लिम्बूसँग पराजित भएका खतिवडा २०७४ सालको निर्वाचनमा भने माओवादीसमेतको सहयोगमा लिम्बूलाई नै पराजित गर्दै विजयी बनेका थिए ।

२०६४ सालको निर्वाचनमा माओवादी उम्मेद्वार नगेन्द्र धिमालबाट पराजित बनेका लिम्बू २०७० सालको संविधानसभा निर्वाचनमा विजयी बनेका थिए ।

लिम्बूले तत्कालीन मोरङ ९ बाट १५ हजार २०२ मत ल्याएका थिए भने १२ हजार ९८९ मत ल्याएर खतिवडा पराजित भएका थिए ।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका खतिवडा ३७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए । त्यसबेला काँग्रेसका लिम्बूले ३१ हजार ४३६ मत ल्याएका थिए ।

42
Shares
११ मंसिर २०७९, आईतवार ०३:४८