विराटनगर । विराटनगरमा डेंगु संक्रमण नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको छ । यसका लागि महानगरपालिकाले १९ वटै वडाहरुमा समिति गठन गरेको छ ।
महानगरका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार प्रत्येक वडाले आफ्नो कार्यतालिका अनुसार काम गर्न थालेका छन् ।अभियानका लागि विराटनगरका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण पनि दिइएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डेंगु नियन्त्रण विषेशज्ञ डा. सुरेन्द्र उराउले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
अभियानकै सिलसिलामा महानगरका विभिन्न सरोकारवाला निकाय, संघ–संस्था, शिक्षा क्षेत्रका प्रतिनिधि, नागरिक समाज एवं सञ्चारकर्मीको सहभागितामा डेंगु नियन्त्रण गर्नेबारे अन्तरक्रिया गरिएको थियो ।कार्यक्रममा डेंगु नियन्त्रण गर्न आ–आफ्नो क्षेत्रबाट निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो ।
लामुट्टे र तयसको लार्भा खोज तलासमा विद्यार्थीदेखि अरु क्षेत्रका प्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अलीले बताए ।
अलीका अनुसार विराटनगरको १, ३, ४ र ५ नम्बर वडा डेंगुका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । विराटनगरका १९ वटा वडामध्ये हालसम्म ६, १२, १३, १५ र १८ नम्बर वडामा डेंगुका संक्रमित भेटिएका छैनन् । अन्य १४ वटा वडा डेंगुबाट प्रभावित बनिसकेको उनले बताए ।
‘डेंगु नियन्त्रणका लागि सबै वडामा स्प्रे (औषधि छिर्किने) गर्नेदेखि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नेसम्मका काम भइसकेको छ,’ अलीले भने, ‘आवश्यक सामग्रीको व्यवस्थापन गर्दै महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामार्फत निःशुल्क जाँचको व्यवस्था मिलाइएको छ ।’
स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, डा. सुरेश महतो र नगर प्रमुख नागेश कोइरालालगायतको टोलीले अभियानको अनुगमन गर्ने गरेका छन् ।
कोसी अस्पतालका स्वास्थ्यकर्मीी कामेश्वर परिहस्तका अनुसार देशभरमै डेंगु संक्रमणबाट संघीय राजधानी काठमाडौं सबैभन्दा बढी प्रभावित छ । त्यहाँबाट तिहार, छठजस्ता पर्वका लागि घर फर्कनेहरु संक्रमित हुन सक्ने भएकाले संक्रमण फैलने जोखिम रहेको उनले बताए ।
महानगरका एक महिना अघिदेखि नै फाट्टफुट्ट रुपमा डेंगुका बिरामी देखिन थालेका थिए । दसैँपछि बिरामीको संख्या बढेको परिहस्तले बताए ।
डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि आएका बिरामीमध्ये ९० प्रतिशत बिरामीमा संक्रमण पाइएको थियो ।
डेंगु लामखुट्टेबाट सर्ने संक्रमण हो । मानिस बस्ने ठाउँ वरिपरी सरसफाई नगर्ने, व्यक्तिगत सफाईमा ध्यान नदिने, शरीर ढाक्ने गरी कपडा नलगाउने, झुल लगाएर नसुत्ने, घर वरिपरी पानी जम्मा हुन दिनेजस्ता कारण डेंगुको संक्रमण बढिरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
घर वरिपरि फोहोर पानी जम्न नदिने, झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेजस्ता उपाय अपनाए डेंगु संक्रमणबाट बच्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् ।
सामान्यतयाः १५ देखि ४५ वर्षका मानिसहरुमा यसको संक्रमण पाइएको छ । कोसी अस्पतालले विपन्न समुदायका संक्रमित बिरामीका लागि उपचारको निःशुल्क व्यवस्था गरेको छ ।
महानगरपालिकाका अनुसार विराटनगर महानगरपालिकामा हालसम्म डेंगु संक्रमितको संख्या ९० पुगेको छ ।
(प्रशिक्षार्थी)