विराटनगर । डेंगु संक्रमणका कारण विराटनगरमा महिला बढी प्रभावित भइरहेको पाइएको छ । पुरुषको तुलनामा डेंगुबाट महिला बढी संक्रमित बनेका हुन् ।

विराटनगर महानगरपालिकाले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार परीक्षण गरिएकामध्ये विराटनगरमा हालसम्म ९० जनामा डेंगु पुष्टि भइसकेको छ ।

विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुले उपलब्ध गराएको विवरणका आधारमा महानगरले संकलन गरेको तथ्यांक अनुसार डेंगु पुष्टि भएकामध्ये महिलाको संख्या ५० छ । ४० जना पुरुषमा डेंगुको संक्रमण देखिएको महानगरले जनाएको छ ।

व्यापक रूपमा फैलिइरहेको डेंगुबाट अन्य स्थानमा पुरुष बढी संक्रमित भइरहेको विज्ञहरुले बताए । उनीहरुले विराटनगरमा महिला बढी संक्रमित हुनुलाई अनौठो मनेका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर डा. सुरेन्द्रकुमार उराँवले विराटनगरको डेंगुको तथ्यांक अन्यत्रको भन्दा विपरीत आएको बताए ।

‘मुलुकका अरु स्थानमा डेंगुका कारण बिरामी पर्नेमा पुरुषको संख्या धेरै छ । विराटनगरमा भने महिला धेरै रहेको पाइयो,’ उनले भने, ‘विराटनगरको तथ्यांक अन्यत्रको भन्दा भिन्न खालको छ ।

यसको कारण पत्ता लगाउन आवश्यक देखियो ।’ डा. उराँवले लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बढी महिला प्रभावित हुनुको कारण पत्ता लगाउन अध्ययन एवं अनुसन्धान सुरु गरिएको बताए ।

‘काम वा अन्य कुनै सिलसिलामा महिलाभन्दा पुरुष बाहिरफेरो बढी जान्छन् । महिलाको तुलनामा पुरुषले शरीर ढाक्ने कपडा लगाउँदैनन् । हर्मोनका कारण पुरुषमा बढी लामखुट्टे आकर्षित हुन्छ,’ उनले भने, ‘त्यो हिसाबले पुरुष बढी संक्रमित हुनुपर्ने हो । तर यहाँ महिला बढी संक्रमित भइरहेको तथ्यांक प्राप्त भयो । यो एउटा नयाँ खोज एवं अनुसन्धानको विषय बनेको छ ।’

उनको विचारमा घरमै सक्रिय भएका बेला लामखुट्टेको टोकाइका कारण महिला धेरै संक्रमित भएको हुनसक्छ ।

विराटनगरमा स्थायी भन्दा पनि अस्थायी रूपमा बसोबास गर्नेहरु डेंगुबाट बढी संक्रमित भएको महानगरले जनाएको छ ।

महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले विराटनगरमा घर नभएका र डेरामा बसोबास गरिरहेकाहरु डेंगुबाट धेरै संक्रमित भइरहेको बताए । त्यसअर्थमा बाहिरफेरो धेरै आवतजावत गर्नेहरु बढी संक्रमित भएको पुष्टि हुने उनको भनाइ छ ।

अलीका अनुसार विराटनगरको १, ३, ४ र ५ नम्बर वडा डेंगुका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । विराटनगरका १९ वटा वडामध्ये हालसम्म ६, १२, १३, १५ र १८ नम्बर वडामा डेंगुका संक्रमित भेटिएका छैनन् । अन्य १४ वटा वडा डेंगुबाट प्रभावित बनिसकेको उनले बताए ।

‘डेंगु नियन्त्रणका लागि सबै वडामा स्प्रे (औषधि छिर्किने) गर्नेदेखि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नेसम्मका काम भइसकेको छ,’ अलीले भने, ‘आवश्यक सामग्रीको व्यवस्थापन गर्दै महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामार्फत निःशुल्क जाँचको व्यवस्था मिलाइएको छ ।’

साथै निःशुल्क रूपमा पारासिटामोल र जीवनजल वितरण पनि भइरहेको जानकारी उनले दिए । डेंगु नियन्त्रणका लागि प्रत्येक आइतबार बिहान १० देखि १०ः३० बजेसम्म लामखुट्टेका लार्भा र प्यूपा ‘खोज तथा नष्ट’ (सर्च एन्ड डिस्ट्रोए) अभियान सञ्चालन गरिने अलीले बताए ।

डेंगु नियन्त्रण अभियानअन्तर्गत मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले आइतबार सरोकारवाला निकायहरुसँग अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश १ जनस्वास्थ्य प्रयोशालाका प्रमुख जयबेन्द्र यादवले विराटनगरका विभिन्न स्वास्थ्य संस्था, क्लिनिक र प्रयोगशालाहरुमा डेंगुको परीक्षण हुने गरेको बताए । तर यकिन तथ्यांक भने कसैले पनि उपलब्ध नगराउने गरेको उनको भनाइ छ । आधिकारिक तथ्यांक उपलब्ध भएमा मात्रै डेंगु नियन्त्रण सहज हुने यादवको भनाइ छ ।

196
Shares
३० आश्विन २०७९, आईतवार १७:०१