विराटनगर । विराटनगर महानगरपालिकाले डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान अघि बढाएको छ । डेंगु रोगको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि यस्तो अभियान थालिएको हो ।

महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर वडा नम्बर ८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा नष्ट गरिएको वडाध्यक्ष राम पोखरेलले बताए ।

शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

विशेषगरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले बताए ।

यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेंगु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । मंगलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नम्बर १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो ।

घर वरिपरि फोहोर पानी जम्न नदिने, झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेजस्ता उपाय अपनाए डेंगु संक्रमणबाट बच्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु