विराटनगर । सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदा कक्षा ९ मा पढ्दै थिए । पढाइलाई चटक्कै माया मारेर २ वर्षदेखि विद्यालय जान छाडे ।
पढ्दापढ्दै विद्यालय जान छाडेर साथीभाइसँग बरालिन थाले । गलत संगतमा परे । अभिभावकले पनि साथी–संगत र उनको दैनिकीमा ध्यान दिन पाएनन् । किनभने परिवारभित्र मुख्य जिम्मेवारी निर्वाह गर्नुपर्ने बुवा सुन्दर सदा नै ४ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा छन् ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले जीविकोपार्जनका लागि आमा ललितादेवी सदा सिजन अनुसारको ज्यालामजदुरी गर्नुपर्ने बाध्यतामा थिइन् । बाबु विदेश र आमा अर्काकोमा मजदुरी गर्ने भएकै कारण अभिभावकले उनलाई समय दिन सक्ने अवस्था भएन । न त गलत संगतमा परेर अंशु लागूऔषधको कुलतमा फसेका छन् भन्ने कुरा नै घरपरिवारले थाहा पाउन सक्यो ।
सदा परिवारको गोलबजार–३ मा इँटाको गाह्रो लगाएर बनाएको १ तले घर छ । बुवा सुन्दर ऋण खोजेर विदेश गएका थिए । ‘घर बनाउँदा लागेको ऋण तिर्नलाई ऋण खोजेरै सुन्दर विदेश गएका रहेछन् । ऋण तिर्दातिर्दै ४ वर्ष विदेशमा बितिसक्यो,’ परिवारलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘पारिवारिक आर्थिक अवस्था निक्कै कमजोर छ । त्यही भएकाले नेपालमा रहेका परिवारका सदस्यले ज्यालामजदुरी गर्नुपर्ने बाध्यता हुँदा अंशुमाथि अभिभावकीय रेखदेखको अभाव भयो ।’
मुसहर समुदायका सुन्दर र ललितादेवीका ५ सन्तानमध्ये अंशु एक मात्रै छोरा थिए । ४ दिदी–बहिनीमध्ये जेठी दिदीको बिहे भइसकेको छ । उनका ३ जना बहिनी छन् । बहिनीहरु आमालाई घरधन्दा र ज्यालामजदुरीमा सहयोग गर्छन् । पढ्न छाडिसकेका अंशु भने स्वतन्त्र थिए । उनलाई घरमा काम गर्नुपर्ने बाध्यता थिएन ।
एक मात्रै छोरा भएकाले पनि धेरै माया पाएका कारण पारिवारबाट अंशुलाई स्वतन्त्र हुने अवसर मिल्यो । उनलाई औधी माया गर्ने, तर गतिविधि र दैनिकीमा ख्याल नगर्ने वातावरण परिवारमा बन्यो । हुन त सधैँ उनलाई मात्रै ध्यान दिनसक्ने अवस्थामा परिवार थिएन । बिहान बेलुका हातमुख जोड्नै धौधौ भइरहेको परिवारमा बेलैमा उनीमाथिको निगरानी र अभिभावकीय रेखदेख कम हुँदा अहिले आएर परिवारभित्र ठूलो बज्रपात परेको छ । सदा परिवारले सधैँका लागि छोरो गुमाएको छ ।
सबैभन्दा बढी विश्वास गरिएका साथीहरुबाटै अंशु मारिएका छन् । लागूऔषधको कुलतले जुराएको गलत संगतकै कारण उनको ज्यान गयो । प्रहरीको अहिलेसम्मको अनुसन्धानबाट गलत संगत र लागूऔषधको दुर्व्यसन नै उनको हत्याको मुख्य कारण रहेको पत्ता लागेको छ ।
प्रहरीका अनुसार गत असोज २३ गते अपरान्ह ३ जना युवा अंशुको घरमा पुगे । घरमा पुगेका धनुषाको कमला नगरपालिका–६ का २१ वर्षीय शिवकुमार मण्डल, बिसु भनिने १९ वर्षीय प्रशान्तकुमार मण्डल र राकेश ठाकुरले घुम्न जाउँ भन्दै उनलाई लिएर गए । प्रायः घरमा आइरहने र अत्यन्तै मिल्ने साथी भएकाले अंशुलाई घुम्न जाउँ भनेर प्रस्ताव गरेका उनीहरुमाथि परिवारले शंका गर्ने कुरै भएन ।
घुम्न जाने साथीहरुकै प्रस्तावमा अंशुले साँझ घर छाडे । मिलनसार साथीहरुसँग घुम्न निस्किएको कुरा परिवारलाई पनि थाहा थियो । तर उनी घर फर्कन पाएनन् । न त अब अंशु कहिल्यै घर नै फर्कने छन् ।
कतै गएमा घर फर्किहाल्ने उनी ३–४ दिनसम्म फर्किएनन् । छोरा घर फर्किएर आउलाभन्ने आशामा ललिता थिइन् । उल्टै फिरौतीवापतको रकम माग गर्दै उनलाई फोन गयो । त्यो फोन प्रशान्तले गरेका थिए । प्रहरीका अनुसार अंशुलाई आफूहरुले अपहरण गरेको र छुटाउन मन भए १ लाख रूपैयाँ पठाइदिनु भन्दै आमालाई प्रशान्तले फोन गरे । ‘पैसा नदिएमा छोरालाई मरिदिन्छौँ’ भन्दै धम्क्याएर म्यासेज पनि पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
धम्कीपूर्ण फोन र म्यासेज गर्ने व्यक्ति छोराकै साथी भएकाले ललिताले वस्ता गरिनन् । साथी–साथी मिलेर जिस्किएका होलान् भन्ने ठानिन् । साथीहरुसँग गएको छोरा ४ दिनसम्म घर नफर्किएपछि गत बिहीबार (२७ गते) इलाका प्रहरी कार्यालय गोलबजार पुगिन् । खोजतलासको माग राख्दै प्रहरीमा जाहेरी दिइन् । तर अपहरण र फिरौती माग गरिएको विषय जाहेरीमा नखुलाएको सिरहा प्रहरी प्रमुख एसपी अजुर्नप्रसाद तिमल्सिना बताउँछन् ।
‘घरबाट हिँडेको ४ दिनपछि खोजतलासको माग राखेर जाहेरी परेसँगै प्रहरीले आफ्नो प्रक्रिया अघि बढायो । अपहरण र फिरौतीको कुरा साँझतिर मात्रै जानकारी भयो,’ उनले भने, ‘तत्काल मोबाइल ‘ट्रयाक’ गर्ने क्रममा ‘लोकेसन’ विराटनगरमा देखिएकाले सहयोगका लागि मोरङ प्रहरीसँग समन्वय गरियो । तर हत्या गरिएको बीभत्स अवस्थामा भोलिपल्ट शव फेला पर्यो ।’ अपहरण र फिरौतीको विषय बेलैमा थाहा पाउन सकेको भए घटना हुन नपाउने दाबी प्रहरीको छ ।
प्रहरीमा जाहेरी परेको भोलिपल्ट शुक्रबार दिउँसो विराटनगर महानगरपालिका–११ बसपार्कस्थित न्यु अप्सरा गेष्ट हाउसको पहिलो तलामा रहेको १ नम्बर कोठामा अंशुको शव भेटियो । मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीका अनुसार अंशुसहित ४ जना २४ गते बिहान विराटनगर आइपुगेको खुलेको छ । चारै जना २५ गतेसम्म बसपार्ककै धनकुटे लजमा बसेको कार्की बताउँछन् । उनका अनुसार त्यहीँबाट अंशुकी आमालाई बारम्बार फोन र म्यासेज गरेर फिरौतीवापतको रकम माग गर्न थालेको पाइएको छ ।
‘घुम्दा लाग्ने खर्चबापतको पैसा अंशुले विदेशमा भएका बुवासँग माग्छु भनेका रहेछन् । आफ्ना अभिभावकसँग पैसा माग्ने कुरामा अंशुको पनि सहमति देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यही भएकाले अंशुको अपहरणलाई देखाएर पैसा माग्न प्रशान्तले अग्रसरता देखाएको पाइयो । कमजोर आर्थिक अवस्थाका कारण तत्काल परिवारले पैसा पठाउन सकेनन् ।’ तर पैसा माग्ने क्रम रोकिएन । उनीहरुको साथमा भएको पैसा पनि सकियो ।
‘शिवले विदेशमा रहेका आफन्तसँग पठाइमागेको १५ हजार रूपैयाँ बोकेर उनीहरु घुम्न आएका रहेछन् । घुम्दा लाग्ने अरु खर्च अंशुका परिवारसँग उठाउने योजना बनाएछन् । गेष्ट हाउसमा बस्दै जाँदा साथमा भएको पैसा पनि खर्च भइसकेपछि अंशुका परिवारसँग माग्न थालेको पाइयो,’ डीएसपी कार्कीले भने, ‘तर साथमा नभएकाले तत्कालै पठाउन सक्ने अवस्था भएन । ऋणसापटी खोज्दा समय लाग्यो । ऋण लिएर १० हजार रूपैयाँ अंशुकी आमाले बिहीबार साँझतिर बैंकमा पठाइदिएको खुल्यो ।’ कार्कीका अनुसार अंशुको हत्यामा कुनै पूर्वयोजना देखिँदैन । मागेको पैसा २ दिनसम्म पनि नपठाइदिएको र अंशुले समेत आमासँग माग्न नसकेपछि लागूऔषधको नशामा रहेका ३ जना मिलेर उनको हत्या गरेको प्रहरीको भनाइ छ ।
‘२७ गते साँझसम्म हत्याको कुनै योजना बनेको देखिँदैन । तर पैसा नपाउँदा गेष्ट हाउसमा तिर्ने रकम अभाव भएको झोंकमा कपडाले मुख छोपेर अनुहारमा इँटा प्रहार गर्दै र घाँटीमा ब्लेडले काटेर अंशुलाई मारेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘१ लाख माग गरेकोमा ‘बार्गेनिङ’ हुँदा तत्कालका लागि १० हजारमा कुरा मिलेको रहेछ । तर समयमै नपाएपछि आवेशमा आएर हत्या गरेको पत्ता लागेको छ ।’
प्रहरीका अनुसार एउटै गेष्ट हाउसमा बसेर पैसाको ‘बार्गेनिङ’ गर्दा शंका हुने भएपछि उनीहरुले अर्कोमा सर्ने योजना बनाए । त्यसपछि २६ गते बेलुका चारै जना न्यु अप्सरा गेष्ट हाउसमा सरे । २६ र २७ गते अप्सरामा बसे । २७ गते बिहीबार राति अंशुको हत्या भएको प्रहरीले जनाएको छ । त्यतिबेलासम्ममा अंशुकी आमाले १० हजार रूपैयाँ पठाइदिसकेकी थिइन् । तर बैंक बन्द भइसकेकाले पैसा निकाल्न भने पाएका थिएनन् ।
प्रहरीका अनुसार हत्या गरेपछि तन्नामा पोको पारेर गेष्ट हाउसको कोठाभित्र रहेको पलङ (लो–बेड)भित्र हालिदिएर हत्यामा संलग्न रातभर त्यही पलङमा सुतेका थिए । नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएका अंशुको टाउ, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट थियो । कोठाभित्र रगत लतपतिएको कपडा भेटिएका थिए ।
गेष्ट हाउसका एक कर्मचारीका अनुसार असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै ४ जना आएका हुन् । उनीहरुले बुधबार र बिहीबारका लागि कोठा बुक गरे । अझै एक साता बस्ने भनेर शुक्रबार बिहान अर्को कोठा पनि बुक गर्न खोजेका थिए । ‘अझै एक साता बस्छौँ । थप एउटा कोठा चाहियो भनेर मागेका थिए,’ ती कर्मचारी भन्छन्, ‘त्यसपछि पैसा लिएर आउँँछौं भन्दै बाहिर निस्किएर गए । पछि उनैलाई लिएर प्रहरी आइपुग्यो ।’ उनका अनुसार गेष्ट हाउसमा बसेका व्यक्तिलाई लिएर प्रहरी आइपुगेपछि मात्रै हत्याका बारेमा थाहा भएको हो । ‘बिहान हामी सरसफाई गर्न जाँदा कोठाभित्र छिर्न दिएनन्,’ ती कर्मचारी भन्छन्, ‘हामी नै सरसफाई गर्छौं भनेर फर्काइदिए ।’
पैसा निकाल्न बैंक जाँदा पक्राउ
प्रहरीका अनुसार प्रशान्तले ब्रह्मानन्दन यादवको नाममा माछापुच्छ्रे बैंकमा खाता खोलेर चेक आफ्नै साथमा राखेको पाइएको छ । त्यही खाता नम्बरमा उनले अंशुकी आमालाई पैसा पठाउन लगाएका थिए । ब्रह्मानन्दन को हुन् भन्ने बारेमा पत्ता लाग्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रशान्तले पैसा निकाल्न विराटनगर–९ स्थित बैंकको शाखामा जाने तयारी गरे । तर उनीसँग बैंकसम्म जान सीटी सफारीलाई तिर्ने भाडा पनि थिएन । गेष्ट हाउसको अर्को कोठामा बसेका मोरङको रतुवामाई नगरपालिका–५ का ३६ वर्षीय मनोज कार्कीसँग प्रशान्त जोडिए । गेष्ट हाउसमा सँगै बसेर लागूऔषध गाँजा सेवन गर्ने क्रममा दुई जनाबीच चिनजान भएको प्रहरी बताउँछ ।
भाडाको व्यवस्था मनोजले गरिदिने भएपछि दुवै जना एउटै सफारी चढेर बैंक पुगे । अंशुका अपहरणकारी बैंकमा पैसा निकाल्न आउँदैछन् भन्ने सूचना प्रहरीलाई थियो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला नेतृत्वको टोलीले प्रशान्त र मनोजलाई बैंकबाटै पक्राउ गर्यो ।
पक्राउ पर्दा प्रशान्तले लगाएको कपडामा रगतको टाटा थियो । उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि अंशुको हत्या भएको खुल्यो । त्यसपछि प्रहरी गेष्ट हाउसमा पुग्यो । अंशुको शव राखिएको पलङमाथि राकेश सुतिरहेका थिए । उनी पनि पक्राउ परे । घटनामा संलग्न शिव फरार रहेकाले खोजी जारी राखिएको प्रहरीले जनाएको छ । यद्यपि घटनामा मनोजको संलग्नता भने यकिन भइसकेको छैन ।
‘एउटै गेष्ट हाउसमा बसेका बेला चिनजान भएपछि सँगै गाँजा खाएको र प्रशान्तसँगै बैंकसम्म गएको मात्रै खुलेको छ,’ प्रहरीका एक अधिकृत भन्छन्, ‘प्रारम्भिक अनुसन्धानबाट घटनामा मनोजको कुनै ‘कनेक्सन’ देखिएको छैन ।’ प्रहरीले भने प्रशान्त, राकेश र मनोजविरुद्ध नै कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीले उनीहरु बसेको कोठाबाट थोरै परिणामको गाँजा पनि बरामद गरेको छ ।
अंशुको हत्याअघि सबै जना सँगै बसेर गाँजा सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न र हत्या गरिएका अंशु सबै लागूऔषधका प्रयोगकर्ता हुन् । गेष्ट हाउसमा तिर्न तथा लागूऔषध सेवन गर्न पैसा अभाव भएको र मागेको रकम समयमा नपाएपछि अंशुको हत्या गरिएको प्रहरीको भनाइ छ । विराटनगरको कोसी अस्पतालमा पोस्टमार्टम भएपछि परिवारका सदस्यले बुझेर शवको अन्त्येष्टि गरिसकेका छन् ।
‘अभिभावकले आफ्ना सन्तानको विशेष ख्याल राख्नुपर्छ । उसका गतिविधि र संगतका बारेमा ध्यान दिनुपर्छ । नत्र गलत संगत र कुलतमा फस्न सक्छन्,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘सन्तानलाई अभिभावकीय रेखदेख अपरिहार्य हुन्छ । वास्ता नगर्दा सन्तान गुमाउनुपर्ने अवस्था आउन सक्छ । अंशुको हत्या गलत संगत र कुलतको गतिलो उदाहरण हो ।’