विराटनगर । सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदालाई विराटनगर ल्याएर हत्या गरिएको खुलेको छ ।

अपहरण गरेर विराटनगर ल्याएर उनको हत्या गरिएको हो । हत्या गरिएको अवस्थामा विराटनगर महानगरपालिका–११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको पहिलो तलामा रहेको कोठामा सदाको शव शुक्रबार दिउँसो फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार हत्या गरेपछि शव तन्नामा पोको पारेर कोठाको लो–बेड (पलङ)मुनि हालिदिएको पाइएको छ । नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएका सदाको टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको कार्कीले बताए । हत्या गरिएको कोठाभित्र रगत लतपतिएको कपडाहरु फेला परेका छन् ।

असोज २३ गतेदेखि हराइरहेका सदाको खोजतलासका लागि परिवारका सदस्यले बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए । गेष्ट हाउसका एक कर्मचारीले दिएको जानकारी अनुसार असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै ४ जना आएका थिए । उनीहरुले बुधबार र बिहीबारका लागि १ नम्बर कोठा बुक गरे ।

अझै एक साता बस्ने भनेर शुक्रबार बिहान अर्को कोठा पनि बुक गर्न खोजेका थिए । कोठा बुक गर्ने शर्त राखेर पैसा लिएर आउँछौँ भन्दै बाहिर निस्किएकाहरु त्यसपछि फर्किएर नआएको ती कर्मचारी बताउँछन् । अप्सरा गेष्ट हाउसमा बस्नुअघि २४ र २५ गते नजिकैको धनकुटे लजमा बसेको खुलेको छ ।

परिवारका सदस्यसँग फिरौती रकम माग गरिएपछि सदालाई अपहरण गरिएको खुलेको थियो । अपहरणपछि विराटनगर ल्याएर गेष्ट हाउसमा राखेर कोठाभित्र हत्या गरी शव पलङभित्र हालिदिएको पाइएको प्रहरीले जनाएको छ । सदाको हत्या बिहीबार राति भएको  हुनसक्ने प्रहरीको अनुमान छ ।

अपहरणकारीले परिवारका सदस्यसँग १ लाख रुपैयाँ फिरौती रकम माग गरेपछि सदाका परिवारले माछापुच्छ्रे बैंकमा पैसा हालिदिएको पाइएको प्रहरी स्रोतले बतायो । विराटनगर–९ स्थित बैंकको शाखा कार्यालयमा रकम निकाल्न पुगेका बेला अपहरण तथा हत्यामा संलग्नमध्ये २ जनालाई प्रहरीले बिहान ११ बजेतिर पक्राउ गरेको छ । १ जना गेष्ट हाउसबाटै पक्राउ परेका हुन् ।

डीएसपी कार्कीका अनुसार घटनामा संलग्न धनुषाको कमला नगरपालिका–६ का १९ वर्षीय प्रशान्तकुमार मण्डल, राकेश ठाकुर र मोरङको रतुवामाई नगरपालिका–५ का ३६ वर्षीय मनोज कार्कीलाई पक्राउ गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तीनै जना पक्राउ परेपपिछ सदाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । डीएसपी कार्कीका अनुसार पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर कानुनी प्रक्रिया पूरा गर्दै घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।  

1.86k
Shares
२८ आश्विन २०७९, शुक्रबार १५:०८