जनकपुरधाम । नेपाल र भारतबीच धार्मिक पर्यटन तथा रेल यात्राको नयाँ अध्याय सुरु हुँदैछ। जनकपुरधामबाट भारतको अयोध्याधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस यही मङ्सिर १२ गते शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ।

रेल यात्राका लागि बिहीबारदेखि जनकपुरधाममा टिकट काट्नसमेत सुरु गरिएको छ। नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सातामा एक दिन सञ्चालन हुने रेलको समयतालिका र भाडादर निर्धारणसहित आवश्यक तयारी पूरा भएको छ।

निर्धारित तालिकाअनुसार रेल शनिबार नेपाली समय दिउँसो १ः१० बजे जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ। आइतबार भारतीय समयअनुसार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ। अयोध्याबाट सोमबार साँझ ५ः५० बजे फर्कने रेल मङ्गलबार बिहान ११ः४० बजे जनकपुरधाम आइपुग्नेछ।
  • टु टायर एसी : १ हजार ३६० भारतीय रुपैयाँ

  • थ्री टायर एसी : ९६५ भारतीय रुपैयाँ
  • एसी इकोनोमी : ८८५ भारतीय रुपैयाँ

  • स्लिपर : ३६५ भारतीय रुपैयाँ

सुविधा तथा बिमा शुल्क भने छुट्टै लाग्नेछ।

जनकपुरधामबाट अयोध्या जाने यात्रुले एक दिनमै फर्कन सक्ने व्यवस्था भए पनि अयोध्याबाट जनकपुरधाम आउने यात्रुले चार दिन बस्नुपर्नेछ। तर, जनकपुरधाममा पर्यटक घुमाउने विशेष प्याकेज भने अझै तयार भइसकेको छैन।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा यस रेल सेवाको उद्घाटन गरेका थिए।

3
Shares
१२ मंसिर २०८३, शुक्रबार ११:४२