काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको अर्बौं रुपैयाँको असुली प्रकरणमा वर्तमान सभामुख डोलप्रसाद (डीपी) अर्यालको तत्कालीन श्रममन्त्री कार्यकाल पनि चर्चामा आएको छ।

अर्याल २०८० फागुन २३ देखि २०८१ असार ३१ सम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री थिए। सोही अवधिमा २०८० चैत २५ गते श्रम मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई दुईवटा पत्र पठाउँदै २१ लाख ३१ हजार ७४० मलेसियन रिङ्गिट अर्थात् करिब ७ करोड २९ लाख रुपैयाँ मलेसिया पठाउन विदेशी मुद्रा सटही सुविधा मागेको थियो।

यद्यपि, प्रहरी स्रोतका अनुसार उक्त रकम विदेश पठाउने प्रक्रिया अर्यालभन्दा अघिका श्रममन्त्रीहरूले गरेका निर्णयका आधारमा अघि बढेको देखिएको छ। अर्यालको कार्यकालमा रकम पठाउने विषयमा मन्त्रीस्तरीय निर्णय भएको प्रमाण हालसम्म फेला नपरेको र उनी अनुसन्धानको दायरामा नरहेको बताइएको छ।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३६ वटा स्वास्थ्य संस्था, नेपाली कम्पनी म्याक्रोटेक, मलेसियाको बेस्टिनेट कम्पनी, श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच भएका कारोबार तथा निर्णयमाथि अनुसन्धान गरिरहेको छ। प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ११ जना हिरासतमा रहेको बताइएको छ।

अनुसन्धानका क्रममा मन्त्रालयबाट हराएको भनिएको महत्त्वपूर्ण सक्कल फाइलसमेत प्रहरीले फेला पारेर नियन्त्रणमा लिएको छ। उक्त फाइलमा रहेका निर्णय, पत्राचार र आर्थिक कारोबारसम्बन्धी कागजातले रकम विदेश पठाउने प्रक्रियामा विभिन्न पदाधिकारीको भूमिका स्पष्ट पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

७ करोड २९ लाख रुपैयाँ पठाउन भएको पत्राचार र त्यसअघिका मन्त्रीस्तरीय निर्णयबीचको सम्बन्धबारे सीआईबीको अनुसन्धानले थप तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ।

3
Shares
१२ मंसिर २०८३, शुक्रबार १२:०९