काठमाडौं । चीनले आफ्नो मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई सहभागी गराउँदै तीन सदस्यीय टोलीसहित शेन्झाउ–२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ।
बुधबार उत्तरपश्चिमी चीनस्थित जियुक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट दुई चिनियाँ र एक पाकिस्तानी अन्तरिक्ष यात्रीसहितको टोली अन्तरिक्षतर्फ प्रस्थान गरेको हो।अभियानमा ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अली तथा चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो र वु यी सहभागी छन्। प्रक्षेपणपछि अन्तरिक्षयान रकेटबाट अलग भई निर्धारित कक्षमा प्रवेश गरेको जनाइएको छ।
यस अभियानसँगै चीनको मानव अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलोपटक विदेशी र चिनियाँ अन्तरिक्ष यात्री सम्मिलित संयुक्त उडान भएको छ। यसलाई चीन र पाकिस्तानबीचको अन्तरिक्ष सहकार्यमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।अभियानका क्रममा चालकदलले ९० भन्दा बढी वैज्ञानिक प्रयोग तथा प्रविधिसम्बन्धी परीक्षण गर्ने कार्यक्रम छ। पाकिस्तानी अन्तरिक्ष यात्री अलीले अन्तरिक्षमा प्रकाश संश्लेषण गर्ने साइनोब्याक्टेरियासम्बन्धी अनुसन्धानसमेत गर्नेछन्।
यो अभियान सन् २०२५ फेब्रुअरीमा भएको चीन–पाकिस्तान अन्तरिक्ष सहमतिको हिस्सा हो। अभियानमा सहभागी अली र वुका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने ताङ यसअघि दुईपटक अन्तरिक्षमा पुगिसकेका छन्।चीनले सन् २०३० सम्म चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ। यस अभियानलाई चीनको अन्तरिक्ष अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।