विराटनगर । मापदण्डविपरीत सञ्चालित मोरङका चारवटा क्रसर उद्योगलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

गृहमन्त्रालयले निर्देशनअनुसार अनगुगमन गर्दा मापदण्ड विपरीत सञ्चालन गरिएको भेटिएको उद्योगलाई कारबाही गर्न गृहमन्त्रालयमा सिफारिस गरिएको हो ।

मोरङको बेलबारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका क्रसर उद्योगहरूमा अनुगमन गरिएको थियो ।

त्यसक्रममा चारवटा क्रसर उद्योग नियमविपरीत सञ्चालन गरिएको पाइएको हो ।

जिल्ला प्रसाशन कार्यालय मोरङ, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि प्रहरी प्रशासन लगायतका प्रतिनिधि सम्मिलित टोलीले मोरङमा सञ्चालित आठवटा क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।

टोलीले बेलबारी नगरपालिकाको स्टन एग्रिगेट उद्योग प्रालि, सुर्ण एग्रीगेट प्रालि, एमआइ एग्रिगेट प्रालि, धनपाल क्रसर उद्योग, पाथिभारा वासिङ एण्ड क्रसर उद्योगमा अनुगमन गरेको थियो ।

सुन्दरहरैंचाको पूर्वाञ्चल क्रसर, पशुपति स्टोन क्रसिङ उद्योग, जय तिरूपति क्रसर उद्योगमा पनि अनुगमन गरिएको थियो ।

मानव बस्ती र विद्यालय आसपासका क्षेत्रमा क्रसर उद्योग सञ्चालन गरेको भन्दै टोलीले सुन्दरहरैंचाको पशुपति स्टोन क्रसिङ उद्योग, जय तिरूपति क्रसर उद्योग, पूर्वाञ्चल क्रसर उद्योगलाइ बन्द गर्न सिफारिस गरेको छ ।

गृहमन्त्रालयले नियमविपरीत सञ्चालित क्रसर उद्योगहरुको अनुमगन गरी कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिएको थियो ।

यसअघि सर्वोच्च अदालतले पनि अवैध रुपमा चलेका क्रसर खानीलाई बन्द गराउन आदेश दिएको थियो।

21
Shares
२७ पुष २०७९, बुधबार १२:१९