विराटनगर । नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा गरेको संशोधनबाट उद्योगी व्यवसायी सन्तुष्ट हुन सकेका छैनन् । उक्त संशोधनबाट औद्योगिक व्यापारिक क्षेत्रको समस्या समाधान नहुने उनीहरुको भनाइ छ ।

निजी क्षेत्रको प्रतिकूल हुनेगरी राष्ट्र बैंकको संरक्षणमा चर्को व्याजदर कायमै रहेको, बैंक संचालक र उद्योगरव्यवसाय सञ्चालक अलग हुनुपर्ने विषयमा राष्ट्र बैंक मौन रहेको भन्दै संशोधित चालु पूँजी कर्जा मार्गदर्शन कार्यान्वयन गर्न अझै चुनौती रहेको उद्योगीहरुको भनाइ छ ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले नेपाल राष्ट्र बैंकले कैयौं नीतिगत सुधारसम्बन्धी मागहरुको सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा नेपाल राष्ट्र बैंकले गरेको संशोधनले केही राहत गरेपनि दीर्घकालीन समाधान नदिएको बताए ।

मार्गदर्शनको बुँदा नम्बर ८.६ मा शून्य बक्यौतासम्बन्धी सात दिने व्यवस्थाले व्यावसायिक चक्रलाई शिथिलता दिने भन्दै त्यस्तो व्यवस्था विश्वमै कतै नभएको रिजालको दाबी छ ।

कच्चा पदार्थमा अत्यधिक आत्मनिर्भर र ठूलो बजारको आकार बोकेको भारतमा लागू रहेको प्रक्षेपित कारोवार रकमको २०–२५ प्रतिशत रकम ऋण लिन पाउने व्यवस्थासरह नेपाल जस्तो कच्चा पदार्थमा परनिर्भर र सानो बजार भएको अवस्थामा उक्त व्यवस्था लागू गरी कार्यान्वयनमा ल्याउन असम्भव रहेको उनले दाबी गरे ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ लगायतका संघसंस्थाहरुको नेतृत्वमा यसअघि आन्दोलन भएपछि सरकारले समस्या समाधान गर्न भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीहरुलाई वार्ताका लागि बोलाइएको थियो ।

वार्तामा उद्योगी व्यवसायीहरुले विद्यमान चर्को बैंक व्याजदर र प्रतिकूल बैंकिङ नीतिका कारण सिर्जित समस्याहरु समाधान गर्न उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलसँग आग्रह गरेका थिए ।

उनीहरुले एकल अंकको बैंक व्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर अधिकतम् २ प्रतिशत कायम गर्नुपर्ने, संस्थागत व्याजदर न्यून गर्नुपर्ने, बैंक सञ्चालक र उद्योग/व्यवसाय सञ्चालक अलग गर्नुपर्ने लगायत माग अघि सार्दै आएका छन् ।

7
Shares
२२ पुष २०७९, शुक्रबार १६:५४