विराटनगर । चर्को ब्याजदर लगायत बैंकसँग सम्बन्धित विभिन्न समस्या समाधानको पहल गरिदिन उद्योगी व्यवसायीले आग्रह गरेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा काठमाडौं गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर विद्यमान चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरुको तत्कालै निराकरणका लागि आग्रह गरेको हो ।

भेटवार्ताका क्रममा अध्यक्ष रिजालले प्रधानमन्त्रीसमक्ष बैंकका पछिल्ला प्रतिकूल व्यवस्थाहरुबाट उद्योगी, व्यवसायी र सर्वसाधारणमा उत्पन्न भएको असहज वातावरण बारे जानकारी गराएका थिए । ती समस्या समाधानार्थ सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिन उनले अनुरोध गरेका थिए ।

भेटमा संघका पूर्वअध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका, संघका उपाध्यक्ष अनिलकुमार साह र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल प्रदेश १ का अध्यक्ष एवं संघका सचिव सञ्जयकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।

42
Shares
१५ पुष २०७९, शुक्रबार १५:१६