विराटनगर । चिसो बिहानी होस् वा साँझ तराईका चोकहरूमा मौलिक खान्की देखा पर्छ– भक्का । खासगरी राजवंशी समुदायका महिलाहरूले यो परिकार बनाएर बिक्री गरिरहेका हुन्छन् । अचेल अरू समुदायले पनि सिको गर्न थालेका छन् ।
सामान्यतयाः जाडो महिना लागेसँगै तराईका गाउँ, ठाउँ र सहरहरूमा पनि देखिने यो खाजालाई स्वास्थ्यवर्द्धक मानिन्छ । अचेल अरू मौसममा पनि कतैकतै देखिन थालेको छ ।२०५० को दशकसम्म राजवंशी महिलाहरू भक्का लिएर एकाबिहानै घरघर डुल्थे । खान इच्छुकहरूले सट्टामा धान दिन्थे र भक्काले भोक मार्थे ।
भक्कासँग साटेर ल्याएको धान घरमा भात खान र भक्काका लागि चामलको पिठो बनाइन्थ्यो । न्यून आर्थिक अवस्था भएका राजवंशी महिलाहरूले यसरी नै परिवार चलाउँथे । अचेल भने भक्का घरघरमा आउँदैन, भक्का खान चाहनेहरू नै चोक–बजारसम्म पुगिरहेका हुन्छन् ।चिसो मौसममा तात्तातो भक्काको स्वादका पारखी चोकहरूतिर भक्का बनाएर बेच्ने स्थानमा झुम्मिरहेका हुन्छन् । तराईका जिल्लाहरूमा यो लोकप्रिय खाजा हो । अचेल भने यो मौलिक परिकार काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरूसम्म विस्तार भइसकेको छ ।
यतिमात्र होइन, संसारका विभिन्न मुलुकमा पुगेका नेपालीहरु, अझ तराईका बासिन्दाले आयोजना गर्ने उत्सव र कार्यक्रमहरुमा पनि यसले स्थान पाउन थालिसकेको छ ।
भक्का मूलतः राजवंशी समुदायको मौलिक सांस्कृतिक खानेकुरा हो । राजवंशीहरुले प्रत्येक वर्ष झापामा यसलाई ‘भक्का दिवस’ को रुपमा मनाएर अझ परिचित गराउने गरेका छन् ।
‘कोचिला गाभुर फन्ट’ को अग्रसरतामा यो दिवस २०७४ सालदेखि मनाउन थालिएको हो ।
संस्थाका संस्थापक अभय राजवंशी हुन् । दिवस मनाउने क्रममा झापाको बिर्तामोडमा राजवंशी कला संस्कृति झल्काउन समुदायका प्रतिनिधिहरू सांस्कृतिक पहिरनका साथ भेला हुने गरेका छन् । दिवस मनाइने दिन त्यहीँ भक्का पकाइन्छ ।
त्यस अवसरमा उनीहरु आफ्नो मौलिक सांस्कृतिक झाँकीहरू एवं नाचगान पनि प्रस्तुत गर्छन् । यस्तो कार्यक्रममा अरु समुदायका मानिसहरु पनि आकर्षित हुने गरेका छन् ।
यस वर्ष पहिलो पटक मोरङको सुनवर्षी नगरपालिकाको अमरदहमा भक्का दिवस मनाउने योजना रहेको अभयले बताए ।
मंसिर महिना लागेसँंगै घर गाउँमा नयाँ चामल भित्र्याइन्छ । भक्का विभिन्न जातका चामलको पिठोबाट बनाइन्छ । वासमती चामलको बनाउँदा मगमग बासना आउने गरेको उनले बताए ।
राजवंशी समुदायमा भक्का बनाउने चलन सुरु भएदेखि छरछिमेकीलाई निम्तो गरेर रमाइलो गर्दै खाने चलन पनि सुरु भएको हो । खासगरी यस्तो बेला छोरी–ज्वाइँलाई निम्तो गर्ने चलन रहेको राजवंशीले सुनाए ।
कोच राजवंशी समुदायमा भक्काको विशेष स्थान र महत्व छ । जाडो मौसममा राजवंशी जातिमा छोरी–चेलीलाई बोलाएर भक्का, पिठ खुवाउने चलन छ । छोरी–चेलीलाई चिसो छल्न हप्ता–दस दिनका लागि माइत बोलाएर मीठामीठा परिकारसँग भक्का खुवाएर खुसी बनाएर घर पठाउने चलन छ ।
भक्का खाजाको रुपमा पनि, खानाको रुपमा पनि खान सकिन्छ । भक्का खाँदा कसले धेरै खान सक्छ भन्दै प्रतिस्पर्धासमेत हुने गरेको राजवंशीले बताए ।
के हो भक्का ?
सजिलोसँग बुझ्नका लागि भक्का भनेको बफ्याइएको चामलको पिठोको परिकार हो । यो एकदम स्वादिष्ट मात्र होइन स्वास्थ्यबर्द्धक पनि हुन्छ ।
झापाका राजवंशी समुदायले छोरीको बिहेमा कोसेलीस्वरुप मिठाई पठाउने चलन छ । त्यसमा भक्काको परिकार अनिवार्यजस्तै हुन्छ । पूर्वका कतिपय स्थानमा व्यावसायिक रूपमा भक्का पसल पनि सञ्चालन हुने गरेको छ ।
- मात्राअनुसार चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाउनुपर्छ ।
- पानीबाट निकालेर थिग्राउनुपर्छ ।
- ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ ।
- पिठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ ।
- त्यसपछि थोरै पानी हालेर मुछ्दै पीठोलाई नरम बनाउनुपर्छ ।
- त्यसपछि एउटा भाँडामा पानी उमाल्नुपर्छ ।
- भाँडामाथि माटोबाट बनाइएको दुलो परेको ढकन राख्नुपर्छ ।
- ढकनलाई भाडाभित्रको बाफ कतैबाट ननिस्किने गरी राख्नुपर्छ ।
- उम्लिएको पानीबाट निस्किने बाफमाथि राखेर भक्का बनाइने गरिन्छ ।
- पानीले मुछेर नरम बनाएको पिठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर बाफ निस्किँदै गरेको ढकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न करिब दुई मिनेट लाग्छ ।
सामान्यतया भक्का पाकिसकेपछि नून, खुर्सानी, धनियाँ जस्ता चिज मिसाएर बनाइएको अचारसँग खाने गरिन्छ । चियासँग खाँदा बेग्लै स्वाद पाइन्छ ।
अचेल काठमाडौं र अरू सहरहरूमा पनि पाइन थालेपछि यसमा व्यावसायिक पक्ष पनि जोडिन थालेको छ ।
अर्ग्यानिक र स्वस्थ्यकर हुने भएकाले भक्का विपन्न वर्गका लागि मौसमी व्यापारसमेत बनेको छ ।
जसअनुसार ‘सादा भक्का’, स्वादअनुसार मिसाएर ‘चकलेट भक्का’ अनि विशेष तरिकाले बनाइने ‘छोइला भक्का’ पनि प्रचलनमा आउन थालिसकेको छ । भक्का माछा र सब्जीसँग पनि खाइन्छ ।
(प्रशिक्षार्थी)



