माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाएका छन् ।
पार्टीले संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत चयन गरिसकेको छ ।‘प्रदेश सरकारको नेतृत्व हाम्रो पार्टीले पाउनुपर्ने मागदाबीसहित पार्टीको शीर्ष नेतृत्व र सत्ता साझेदार दलहरुसँग छलफललाई अगाडि बढाउने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै प्रदेश सरकार गठन र अन्य सहकार्यका लागि पार्टीको तर्फबाट माओवादीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ छन् ।प्रदेश १ प्रदेशसभामा ९३ जना सांसद छन् । जसमा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एकजना सांसद निर्वाचित भएका छन् ।