विराटनगर । मुख्यमन्त्रीका दाबेदारका रुपमा चर्चामा रहेका नेकपा माओवादी केन्द्रका सांसद इन्द्रबहादुर आङ्बो पार्टीको संसदीय दलको नेतामा चयन भएका छन् । पाँचथर क्षेत्र क्षेत्र ‘ख’ बाट प्रदेशसभामा निर्वाचित उनलाई संसदीय दलको बैठकले सर्वसम्मत नेता चयन गरेको हो ।

माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले आङ्बोलाई सर्वसम्मत नेता चयन गरेको हो ।

तेह्रथुम २ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित दुर्गाप्रसाद चापागाईं पनि संसदीय दलको नेताको आकांक्षी थिए । उनले आङ्बोलाई समर्थन गरेपछि संसदीय दलको नेता सर्वसम्मत चयन भएको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रहेका आङ्बो प्रदेश १ को मुख्यमन्त्रीको दावेदार हुन् ।

माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीको दावीसहित गठबन्धनमा छलफल गर्न पार्टीका इञ्चार्ज कार्कीको संयोजकत्वमा समिति बनाइएको छ ।

प्रदेशसभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । दलको नेता चयन भएपछि आङ्बोले प्रदेश १ मा सरकारको नेतृत्वमा आफूहरूको दाबी रहेको बताए ।

28
Shares
१३ पुष २०७९, बुधबार ०८:३५