विराटनगर । कतारमा जारी विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि भिड्ने टोलीको टुंगो लागिसकेको छ । अन्तिम सेमिफाइनल खेलमा फ्रान्सले शून्यका विरुद्ध २ गोलले मोरक्कोलाई निरास पार्दै उपाधिको दाबेदारका रुपमा आफूलाई प्रस्तुत गरिसकेको छ ।
खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।त्यसअघि अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय गरिसकेको छ । पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।
अर्जेन्टिनाका जुलियन अल्भारेजले दुई गोल गरे भने कप्तान लियोनल मेस्सीले एक गोल गरे । ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।अब यसपालिको विश्वकपको उपाधि कुन टिमले उचाल्छ भन्ने कौतुहल विश्वभरका दर्शकमा देखिएको छ । फाइनलमा प्रतिस्पर्धा गर्ने अर्जेन्टिना र फ्रान्स दुवै देशका समर्थकहरु आ–आफ्नो टिमका पक्षमा खुलिरहेका छन् ।
कतिपयले सामाजिक सञ्जालहरुमा आफ्नो समर्थनको मुलुकलाई शुभकामना दिइरहेका छन् । कसैले मेस्सी कप्तानीको अर्जेन्टिनालाई जितको शुभकामना दिएका छन् भने कतिपय एम्बाप्पे नेतृत्वको फ्रान्स विजेता बन्छ भन्दै आशावादी देखिएका छन् ।
विश्वकप फुटबलले संसारलाई नै प्रभावित पारिरहेका बेला विराटनगर महानगरका फुटबलप्रेमी पनि खेलको मजा लिइरहेका छन् । यहाँका अधिकांश दर्शक फ्रान्सका समर्थक देखिएका छन् । डिफेन्डिङ्ग च्याम्पियन फ्रान्स यसपटक पनि राम्रो लयमा रहेकाले धेरैले फ्रान्सले नै जित हासिल गर्ने दाबी गरिरहेका छन् ।
यसअघि कतिपय दर्शक स्पेन, पोर्चुगल, इंग्ल्याण्ड, ब्राजिल, नेदरल्याण्डस् जस्ता देशहरुका समर्थक थिए । आफ्नो समर्थनको पहिलो रोजाइका देशहरु प्रतियोगिताबाट बाहिरिएपछि अब अरु देशलाई समर्थन गर्दै खेलका मजा लिन दर्शक लागिरहेका छन् ।
विराटनगरका प्रल्हाद चौधरी नियमित खेलहरु हेरिरहेका छन् । यसअघि आशलाग्दा सबै टोली पराजित भइसकेकाले अब उनको रोजाइमा फ्रान्स परेको छ । ‘अब फाइनलमा जित्ने फ्रान्स नै हो’ उनले भने ।
फ्रान्सका खेलाडीको मनोबल र टिमवर्क धरै बलियो रहेकोले यसपालि पुनः फ्रान्स नै विश्वविजेता बन्नेमा उनी ढुक्क छन् ।
अर्का फुटबलप्रेमी गणेश श्रेष्ठ पनि फ्रान्सकै पक्षमा छन् । फ्रान्सले विश्वकप ट्रफी जित्नेमात्र होइन कप्तान एम्बापेले गोल्डेन बुट समेत लैजानेमा उनी विश्वस्त छन् । ‘विश्व च्याम्पियन बन्ने फ्रान्स नै हो’ श्रेष्ठले भने, ‘गोल्डेन बुट एम्बापेले लैजान्छन् भन्नेमा ढुक्क छु ।’

विश्वकप फुटबलका केही खेल प्रत्यक्ष हेर्न कतार पुगेका विराटनगरका जेनिस कोइराला ।
पोर्चुगललाई समर्थन गर्दै आएका रेवत कार्कीले सेमिफाइनल हेरेनन् । उनको समर्थनका् टिम बाहिरिएपछि नमज्जा लागेको उनको भनाइ छ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले सबै खेल पुरा समय खेल्न नपाएकाले उनलाई दुःख लागेको रहेछ । ‘अब म फ्रान्सको पक्षमा छु’ उनले भने, ‘फ्रान्सको विकल्प कुनै छैन ।’
एएमजी टाइम्सले प्रतिक्रिया लिन सहभागी गराएका महानगरका ६६.६७ प्रतिशत फुटबलप्रेमी फ्रान्सको पक्षमा देखिए । केहीले भने अर्जेन्टिनाको समर्थनमा आफूलाई प्रस्तुत गरेका छन् । नियमित खेलहरु हेरिरहेका विशाल श्रेष्ठ अर्जेन्टिनासँग अनुभवी खेलाडी रहेकाले यसपालिको विश्वकप ट्रफी उसैले उचाल्ने बताउँछन् ।
केही फुटबलप्रेमीले पुराना देश होइन नयाँ देशले विश्वकप जितेको हेर्न चाहे पनि त्यसो हुन नसकेको बताए । सविता गौतमले सबै खेल हेरिनन् ।
हाइलाइट्सहरु हेरेको उल्लेख गर्दै उनले यसपटक नयाँ टिमले सफलता पाए राम्रो हुने लागे पनि त्यसो हुन नसकेकामा खासै उत्साहित नभएको सुनाइन् ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय टोलीहरुलाई सहभागी गराएर ‘माइभ्याली गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गर्दै आएका इलामको माइभ्याली क्लबका पूर्वअध्यक्ष धीरेन चेम्जोङ फुटबल भनेपछि मरिहत्ते गर्ने नेपाली दर्शकको आआफ्नै रुचि रहेको बताउँछन् ।
‘ब्राजिल, इंग्ल्याण्ड, अर्जेन्टिना जस्ता देशका समर्थक धेरै भए पनि यसपटक नयाँ टिमले उपाधि हात पारोस् भन्ने धेरैलाई लागेको थियो’ उनले भने, ‘तर खेल कौशल राम्रै प्रस्तुत गर्न सके पनि उनीहरुले सफलता पाएनन् ।’
कतिपय नयाँ टिम पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए पनि विश्वभरका धेरै दर्शकको मन भने जितेको उनको अनुभव छ ।
३२ राष्ट्र टोली सहभागी विश्व फुटबलको महाकुम्भ नोभेम्बर २० मा सुरु भएको हो । समूह चरण, प्रि–क्वाटरफाइनल अनि नकआउट चरण हुँदै अब सेमिफाइनल पनि सकिएको छ । अब उपाधिको छिनोफानो मात्र हुन बाँकी छ । तेस्रो स्थानका लागि खेल हुने भए पनि त्यसमा दर्शकको उतिसारो चासो देखिँदैछ ।
नेपालको सहभागिता
विश्वकप फुटबल प्रतियोगितामा सहभागिता सबै राष्ट्रको सपना हुने गर्छ तर थोरै राष्ट्रले मात्र यो सपना पूरा गर्न पाउँछन् ।
सहभागिताको प्रयासका लागि अवसर भने सबै फिफा सदस्य राष्ट्रले पाउँछन् । नेपालले विश्वकप पुग्न ३६ वर्ष अगाडिदेखि प्रयास गरिरहेको छ।
नेपाल दोस्रो चरणभन्दा अगाडि पुग्न सकेको छैन । साढे तीन दशकको यो यात्राका बीचमा दुई विश्वकप छनोटमा सहभागी नभएको नेपालले भाग लिएका खेलहरूमा भने अनेक इतिहास बनाउँदै आएको देखिन्छ।
लामो फुटबल इतिहास भएपनि नेपालले विश्वकप छनोट खेलको शुरुआत १९८६ को विश्वकप छनोटबाट मात्र गर्यो, त्यो पनि आफ्नै घरेलु मैदान दशरथ रङ्गशालाबाट।
विश्वकप छनोटमा नेपालको समूहमा दक्षिण कोरिया र मलेसिया थियो। दक्षिण कोरियासँग ठूलो अन्तरले हार्ने अनुमान गरिएको थियो।
खेल्नु अगाडि एक नेपाली पत्रिकामा नेपालका सबै खेलाडीहरू गोलपोष्टमा बल रोक्न थुप्रिएको कार्टुन नै छापिएको थियो ।
तर रुपकराज शर्माको ‘गोल्डेन जेनेरेशन टोली भनेर चिनिएको नेपाली टोलीले दक्षिण कोरियालाई २–० मै रोक्यो । त्यो पनि एक गोल पेनाल्टीमा र अर्को आत्मघाती गोल भएको थियो ।

मलेसियालाई त नेपालले गोलरहित बराबरी मै रोकिदिएको थियो । जित्न नसकेपनि त्यो एक अङ्क नेपालको लागि विश्वकपमा पाएको सुखद शुरुआती अङ्क थियो ।
त्यसपछि प्रतिस्पर्धीको मैदानमा खेलिने ‘अवे’ खेलमा भने नेपाल दक्षिण कोरियासँग ४–० र मलेसियासँग ५–० ले हार्न पुग्यो । दक्षिण कोरिया उक्त समूहबाट पहिलो पटक विश्वकपमा छनोट भयो ।
सन् १९९० को इटली विश्वकप प्रतियोगिताका निम्ति भएका छनोट खेलहरूमा नेपाल गणेश थापाको नेतृत्वमा उत्रिएको थियो ।
प्रतिद्वन्द्वीहरू थिए दक्षिण कोरिया र मलेसिया। त्यसमा थपिएको थियो सिंगापुर । ‘होम एण्ड अवे’ गरी खेलिएको ६ खेलमा नेपालले कूल २८ गोल खान पुग्यो, नेपालले विश्वकप छनोटमा अहिलेसम्म खाएको सर्वाधिक गोल थियो त्यो।
विश्वकपको महाकुम्भमा अभ्यस्त हुन तम्तयार हुन थालेको नेपाली टोलीले दक्षिण कोरियासँग ९–० र ४–०, मलेसियासँग २–० र ३–० तथा सिंगापुरसँग ३–० र ७–० ले पराजित हुन पुगेको थियो ।
विश्वकपको इतिहास
विश्वकप फुटबल फुटबल खेलको सबैभन्दा प्रमुख विश्वस्तरीय पुरूष फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता हरेक ४–४ वर्षको अन्तरालमा प्रत्येक संस्करणमा फरकफरक राष्ट्रहरूमा आयोजना हुने गर्दछ ।
सन् १९३० बाट सुरू भएको यस प्रतियोगिता हरेक चार–चार वर्षमा आयोजना गर्ने गरी निर्णय गरिएता भनि द्वितीय विश्वयुद्धका कारण सन् १९४२ र १९४६ सालमा भने आयोजना हुन सकेको थिएन ।
यो प्रतियोगिता सबैभन्दा धेरै पटक ब्राजिलले जितेको छ । ब्राजिलले सर्वाधिक पाँचपटक फिफा विश्वकप जितेर फुटबल जगतमा आफूलाई सर्वमान तुल्याउन सफल भएको छ । अघिल्लो विश्वकप भने फ्रान्सले जितेको थियो । उक्त जित फ्रान्सको दोस्रो फिफा विश्वकप उपाधि थियो । २०१८ फिफा विश्वकपको आयोजक रसिया थियो ।

यस प्रतियोगिताको वर्तमान संरचना अनुसार सुरूमा लगभग तीन वर्ष लगाएर प्रतियोगिताको फाइनल चरणका लागि विभिन्न छनोट चरणका खेल तथा प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ ।
३२ छनोट चरणहरू पार गर्ने राष्ट्रहरूका बीचमा विश्वकप प्रतियोगिता सञ्चालन हुने गर्दछ । फाइनल चरणमा पुग्ने एउटा टिम आयोजकका हैसियतले सिधै छनोट चरणका नखेली फाइनल चरणमा स्थान बनाउँदछ ।
अहिलेसम्म २१ वटा विश्वकपमा प्रतियोगिताहरू सञ्चालन भइसकेका छन् । जसमा जम्मा ८ राष्ट्रहरूले मात्र विश्वकप जित्न सफल भएका छन् ।
सर्वाधिक धेरै ५ पटक फिफा विश्वकप राष्ट्र ब्राजिल मात्र विश्वकपमा एउटा यस्तो राष्ट्र हो जसले विश्वकपका सम्पूर्ण संस्करणहरू अथवा २१ वटै विश्वकपका संस्करणहरूमा सहभागिता जनाएको छ ।
अन्य विजेताहरूमा दुई विजेता इटाली र जर्मनीले विश्वकप चारचार पटक जितेका छन् । अर्जेन्टिना, फ्रान्स तथा उरूग्वेले दुईदुई पटक विश्वकप जितेका छन्, भने इंग्ल्याण्ड तथा स्पेनले पनि यो फिफा विश्वकप एक–एक पटक जितेका छन् ।
फिफा विश्वकप प्रतियोगिता विश्वमा सधैभन्दा प्रसिद्ध फुटबल प्रतियोगिता हो । ओलम्पिक खेलपछि सबैभन्दा धेरै दर्शकले प्रत्यक्ष तथा टिभीमा हेर्ने एवम् सबैभन्दा धेरै समर्थकहरूले पछ्याउने खेलकुद प्रतियोगिता हो ।
२००६ फिफा विश्वकपको फाइनल खेल २६.२९ विलियन दर्शकले खेल प्रत्यक्ष रंगशालामा पुगेर तथा विश्वभर ७१५.१ मिलियन दर्शकले हेरेको तथ्यांक छ ।
हालसम्म जम्मा १७ फरकफरक राष्ट्रहरूले मात्र फिफा विश्वकपको आयोजना गरेका छन् । जसअन्तर्गत ब्राजिल, फ्रान्स, इटाली, जर्मनी तथा मेक्सिकोले दुईदुई पटक तथा उरूग्वे, स्वीजल्याण्ड, स्वीदेन, चिली, इङ्ल्यान्ड, अर्जेन्टिना, स्पेन, संयुक्त अमेरिका, जापान र दक्षिण कोरिया (संयुक्त), दक्षिण अफ्रिका र रसियाले एकएक पटक विश्वकप आयोजना गरेका थिए ।
विश्वकप २०२२ फिफा विश्वकपका आयोजकका रूपमा कतार छ । २०२६ फिफा विश्वकपका लागि क्यानाडा, संयुक्त राज्य अमेरिका तथा मेक्सिकोलाई संयुक्त रूपमा आयोजनाका लागि अधिकार दिइएको छ । एकैपटक तीन राष्ट्रहरूले आयोजना गर्ने विश्वकप त्यही हुनेछ ।
विश्वकप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो ।

ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले ।
छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्यो, हरेक चार–चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्वकप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्वकप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो ।
अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले उक्त ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनाररियोमा १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्वकपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भएको थियो ।
पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थिए । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्वकप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए ।
दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए ।
त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो ।
फलतः सन् १९८२ को बाहौं विश्वकपदेखि यसलाई बढाएर २४ देश पुर्याइयो । पुनः १९९८ को १६ औँ संस्करणदेखि विश्वकप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।