काठमाडौं । सन् १९३० को उरुग्वे विश्वकपदेखि २१ संस्करणको रुस विश्वकपको फाइनलसम्म १ हजार ३ सयभन्दा बढी खेलाडीले २ हजार ५ सय ४८ गोल गरेका छन् । विश्वकप फुटबलमा पहिलो गोल गर्ने खेलाडी को होला ? फुटबलमा चाख राख्नेहरुको लागि यो रोचक प्रसंग हो ।

विश्वकपको पहिलो गोलकर्ता हुन्– फ्रान्सका लुसियन लरेन्ट । सन् १९३० मा भएको पहिलो विश्वकपमा मेक्सिको विरुद्धको पहिलो खेलको १९ औं मिनेटमै गोल गर्दै कीर्तिमान रचेका थिए । उक्त विश्वकपमा एउटै समयमा फ्रान्स र मेक्सिको तथा अमेरिका र बेल्जियमबीच उद्घाटन खेल खेलाइएको थियो ।

अर्को खेलमा अमेरिकाका बार्ट म्याकघीले २३ औं मिनेटमा मात्र गोल गर्न सकेकाले उनी विश्वकपको इतिहासमा गोल गर्ने दोस्रो खेलाडी बन्न पुगे ।

लरेन्ट पहिलो गोलको सम्झना यसरी गर्छन्, ‘पहिलो दश मिनेटमा खेलमा कुनै पनि टोलीले अग्रता लिन सकेनन् त्यसपछि, अचानक, डेलफोरले एक अवसर पाए र लिबेराटीलाई दाहिने विङ्गमा पास गरे लिबेराटीले मेक्सिकोका डिफेन्डरलाई पछि पारेपछि बल केन्द्रित भयो । मैले बललाई हावाबाट सीधै बाहिर निकालेँ र मेक्सिकोका गोलरक्षकलाई बोनफिग्लियो पछि पार्दै १–० को अग्रता दिलाएँ, ती दिनहरूमा, बधाईहरू आजकल जस्तो उत्साहजनक थिएनन् ।’

विश्वकप फुटबलको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी पनि फ्रान्सकै आन्द्रे मास्चिनट हुन् । उनले मेक्सिको विरुद्धको खेलको ४३ औं र ८७औं मिनेटमा गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिनुअघि लरेन्टले फ्रान्सका लागि केवल १० खेल खेलेर दुई गोल गरेका थिए । अर्को गोल १ वर्षपछि इङल्यान्ड विरुद्धको मैत्रीपूर्ण खेलमा गरेका थिए ।

पहिलो विश्वकपको पहिलो र दोस्रो खेल खेले पनि घाइते भएका कारण उनले तेस्रो खेल भने खेल्न सकेका थिएनन् । घाइते भएकै कारण उनले सन् १९३४ को विश्वकप पनि खेल्न सकेनन् । उनले विभिन्न क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । दोस्रो विश्वयुद्धको समयमा उनी सेनामा पनि भर्ना भए ।

विश्वयुद्धका क्रममा जर्मन सेनाले उनलाई तीन वर्ष बन्दी बनाएका थिए । सोही समयमा जर्मनहरुले उनको विश्वकप जर्सी समेत चोरेका थिए ।

सन् १९०७ को डिसेम्बर १० मा जन्मिएका लरेन्टको मृत्यु ११ अप्रिल २००५ मा ९७ वर्षको उमेरमा फ्रान्सको बेसाङकनमा भएको थियो।

(नमीन ढकाल/खेलपाटी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु