पोखरा । न कसैलाई गाली, न त आरोप । शालिन रुपमा प्रस्तुत हुँदै उनले निरन्तर मतदाताको मन रिझाउने प्रयास गरिरहिन् । तल्लो तहसम्म पुगेर समस्या बुझ्ने अनि समाधानका लागि योजना बुन्ने काम गरिन् ।

राजनैतिक जालझेलभन्दा टाढा रहेको उनको व्यक्तित्वले मतदाताको मन जित्यो । अनि विजयी भइन् कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई विद्या भट्टराई ।

सत्ता गठबन्धनको घेराबीच उनले मतदाताको प्रिय बन्दै विजयको माला पहिरिएकी छन् । उच्च शिक्षा हासिल गरेकी अनि समाजका सबैजसो समस्याबारे गहिरो गरी अध्ययन गरेकी उनी प्रतिस्पर्धी उम्मेदवारहरुभन्दा बेग्लै विशेषता भएकी विजयको दाबेदार थिइन् ।

यही विशेषताले पनि मतदाताको ध्यान उनीतर्फ केन्द्रीत भएको मानिन्छ । हावादारी आश्वासन र पूरा हुन नसक्ने बाचा उनले कहिल्यै गरिनन् ।

नेकपा एमाले नेतृ भट्टराई दोस्रोपल्ट उक्त क्षेत्रबाट विजयी बनेकी हुन् । १६ हजार ९ सय ९८ मतसहित निर्वाचित भएकी उनले निकतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार पाँच सय ३ मतान्तरले पराजित गरिन् ।

श्रीमान् तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की–२ मा भएको उपनिर्वाचनमा पार्टीले उनलाई पहिलोपटक उम्मेदवार बनाएको थियो ।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएकी भट्टराईले त्यसबेला नेपाली काँग्रेसका खेमराज पौडेललाई ८ हजार ४०३ मतले पराजित गरेकी थिइन् ।

अघिल्लो पटक विजयी भएर संसद छिर्दा उनी गुमनाम भइनन् । कहिले नागरिकतामा भएको विभेदका विरुद्ध बोलिन भने कहिले समग्र पोखराको विकासका लागि सरकारको ध्यानाकर्षण गराइन् । अनि सधैँ महिला सशक्तीकरणका लागि आवाज बुलन्द गरिहिन् ।

उनले संसदमा तथ्य र अकाट्य तर्कसहित आफूलाई प्रस्तुत गरिन् । बौद्धिक रुपमा प्रकट हुने उनको अभिव्यक्तिले विपक्षी पार्टीका सांसदहरुको ध्यान पनि तान्ने गरेको थियो ।

दोस्रो पटक विजयी भएर संसद जाँदै गर्दा उनको आवाज अझ बढी परिमार्जित भएर प्रस्तुत हुने भएको छ । यसअघि सांसद हुँदा बनाएका विकासका योजनाहरु अबका दिनमा पूरा गराउने उनको प्रतिबद्धता छ ।

कास्की २ मा पर्ने विभिन्न स्थानहरु अझै पनि विकासको लयमा गइसकेका छैनन् । व्यवस्थित सडक, भूक्षय नियन्त्रण, युवालाई रोजगारी अनि महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनुपर्ने चुनौती सामुन्ने छ ।

यसैगरी, स्वास्थ्य र शिक्षा क्षेत्र भरपर्दो र विश्वसनीय बनाउनु अर्को चुनौती छ । यी सबै चुनौतीलाई सहज रुपमा स्वीकार्दै भट्टराई ठोस योजनाका साथ अघि बढ्ने तयारीमा छिन् ।

‘मतदाताको भरोसालाई टुट्न दिने छैन’ उनको भनाइ छ, ‘निस्क्रिय बस्दिन, अबको पाँच वर्ष जनताको सेवक भएर काम गर्नेछु ।’

336
Shares
१२ मंसिर २०७९, सोमबार १३:३२