सामाजिक विभेद र आर्थिक असमानताका कारण महिलाहरू राजनीतिमा प्रतिस्पर्धी बन्ने सवालमा चुनौतीहरु कायम रहेको बताउने उनको भनाइमा त्यही कारण संख्यात्मक उपस्थिति कमजोर छ ।
अबको पाँच वर्ष संसदीय क्षेत्रमा रहेर समग्र विकासको अभियानमा प्रमुख भूमिका निर्वाह गर्ने अठोट गरेकी भट्टराईले जनप्रतिनिधिका रूपमा जनजीवनको सवालमा संसदमा सशक्त आवाज उठाउने योजना बनाएकी छन् ।२०७६ को उपनिर्वाचनमा कास्की-२ बाट उनी विजयी भएकी थिइन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी थिइन्।
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उपनिर्वाचन भएको थियो । विद्या रवीन्द्रकी पत्नी हुन् ।उनले कांग्रेस उम्मेदवार पौडेललाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी थिइन्। विद्याले २४ हजार तीन सय ९४ मत पाएकी थिइन् भने प्रतिद्वन्द्वी पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएर पराजित भएका थिए ।
प्रस्तुत छ, निर्वाचनको सन्दर्भमा उनीसँग एएमजी टाइम्सले गरेको कुराकानी–
तपाईंको उम्मेदवारी केका लागि ?
राष्ट्रिय स्वाधीनता, कास्केली जनताले देखेको नेपाली मोडेलको विकासका सपना पुरा गर्ने प्रतिबद्धता सहितको मेरो उम्मेदवारी हो । गत उपनिर्वाचनमा कास्कीका न्यायप्रेमी जनताहरुले मलाई अत्यधिक मतका साथ निर्वाचित गर्नुभयो ।
विशेष परिस्थिति जस्तै, कोरोना संक्रमण, राजनीतिक उथलपुथल र अस्थीरताका कारण अघिल्लो कार्यकालमा सुरू भएका योजना र सम्पन्न हुन नसकेका विकास निर्माणका कार्यहरू सबैलाई सम्पन्न गरी जनताको चाहाना पूरा गर्ने प्रतिबद्धतासहित मेरो उम्मेदवारी हो ।
उम्मेदवारीका लागि पार्टीबाट टिकट पाउन कत्तिको सहज भयो ?
जनताको माया र चाहनाले म पार्टीको इमान्दार कार्यकर्ता, प्रार्टी प्रतिको निरन्तर लगनशीलता र बफादारिताको कारणले कस्केली जनताको रोजाइमा सिफारिस भएकोले पार्टीले विश्वास गरी सहज रूपमा उम्मेदवारीका लागि मलाई अघि सार्यो । सिङ्गै पार्टी, सम्पूर्ण नेता, सम्पूर्ण कार्यकर्ताहरूप्रति धेरै आभारी छु । प्यारा जनताहरूको माया, नेता र कार्यकर्ताहरुको पूर्ण साथ पाएकी छु ।
महिलालाई हत्तपत्त नेतृत्वमा आउने अवसर नदिने सबैजसो पार्टीहरुको प्रवृत्ति छ, यस्तो किन गरिन्छ जस्तो लाग्छ ?
नेकपा एमालेले प्रतिस्पर्धालाई स्वीकार गर्दछ । महिला, उत्पीडित तथा सीमान्तकृत समुदायहरुलाई आरक्षणको व्यवस्था सुरु गर्ने पार्टी एमाले हो । सामाजिक विभेद र आर्थिक असमानताका कारण महिलाहरू राजनीतिमा प्रतिस्पर्धी बन्ने सवालमा चुनौतीहरु भने कायम छन् जसका कारण संख्यात्मक उपस्थिति कमजोर नै छ ।
आफ्नो निर्वाचन क्षेत्रका प्रमुख समस्या के के छन् ?
राम्रो सवाल उठाउनु भयो । महानगरभित्रका ११ वटा वडा समावेश भएर बनेको कास्की क्षेत्र नम्बर २ मा अहिले पनि सडक, पुल र खानेपानी सबै वडामा जन आवश्यकताअनुसार पुग्न सकेको छैन । सडक पूर्वाधारका कामहरू अधुरा छन् । भूक्षयको समस्या छ । खानेपानी, ढलनिकासको समस्या छ । कृषिको उत्पादन, बजारीकरणको समस्या छ । युवाहरूलाई स्वरोजगार र महिलाहरूलाई उद्यमशील बनाउन सकिएको छैन ।
ती समस्याको समाधानका लागि तपाईंका योजना कस्ता छन् ?
कास्की २ नम्बर क्षेत्र पोखरा महानगरपालिकाको ११ वटा वडा समावेस भएर बनेको हुनाले जनताको जीवनसँग जोडेर पोखराको प्राकृतिक सम्पन्नतालाई रक्षा गर्दै पोखरा निर्माणको सोच विकास गर्नु पर्दछ । यस क्षेत्रमा प्राकृतिक जोखिम, भूक्षय, नदी कटान, डुबान, ढल निकास जस्ता समस्याहरू प्रमुख रहेका हुनाले विपद र प्राकृतिक प्रकोपलाई समाधान गर्न संघ, प्रदेश र स्थानीय तहको साझेदारी रहने गरी श्रोत साधन सहितको संयन्त्र आबश्यक छ ।
एकीकृत शहरी विकासको मान्यताअनुरुप महानगरीय विकास मोडेललाई अबलम्बन गर्नु पर्दछ । यसले पोखरा महानगरमा समावेश भएका पेरिफेरिका वडाहरुको समग्र विकास गर्न सहज हुन्छ ।
मतदाताले तपाईंलाई नै मत दिनुपर्ने आधार के मान्नुहुन्छ ?
समन्यायिक विकासको सोच सहित योजना बनाउनका लागि प्राप्त अघिल्लो अनुभवलाई कार्यान्वयन गर्न, लैङ्गिक सहभागिता र समावेशी मान्यतालाई स्थापित गर्न, विभेदरहित समाज निर्माण गर्ने एक अभियन्ताका रूपमा मैले संसद र संसदीय समितिमा प्रस्तुत गरेका विचार र खेलेको भूमिका त्यसका साथै साढे २ वर्ष इमानका साथ साम्सद्को भूमिका निर्वाह गरेको आधारहरु नै हुन् भन्ने मैले ठानेको छु ।
राजनीतिमा कसरी प्रवेश गर्नुभयो ? कहिलेदेखि ?
विद्यालय जिवनमा ७ कक्षा पढ्ने समयबाट विद्यालयको सरसफाइ र गुणस्तरीय पढाइको सवाललाई अनेरास्ववियुको नेतृत्वमा सञ्चालित कार्यक्रम हरुमा सहभागी हुँदै मेरो राजनीतिक यात्रा सुरु भएको हो ।
बक्तृत्वकला, हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै अनेरास्ववियुको केन्द्रिय कमिटीको सचिवको जिम्मेवारी पूरा गरे । महिला, बुद्दिजीवी हुँदै पार्टीको केन्द्रिय विभागमा रहेर भूमिका निर्वाह निरन्तर गरिरहेको थिएँ ।
यसमा लाग्न कसैको प्रेरणा वा कुनै घटना, प्रसंग सम्झनुहुन्छ ?
विद्यालयमा अनेरास्ववियुको प्रभाव, अनेरास्ववियुले सञ्चालन गर्ने परिवर्तनमुखी अभियानहरु, घर परिवारको प्रेरणा र सहकर्मीहरुको साथ हुन् ।
भविष्यको योजना के छ, राजनीतिमै निरन्तर लागिरहनुहुन्छ ?
अबको पाँच वर्ष संसदीय क्षेत्रमा रहेर पार्टीको कामका साथै समग्र विकासको अभियानमा प्रमुख भूमिका निर्वाह गर्ने छु । एउटा जनप्रतिनिधिका रूपमा जनजीवनको सवालमा संसदमा सशक्त आवाज उठाउने छु । राजनीति अब अभियान भन्दा पनि लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक प्रमुख कार्यनीति हो भन्ने म ठान्छु । यस चेतका साथ आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने कार्यमा म निरन्तर लाग्नेछु ।
संगठनमा पनि महिलाको निकै कम प्रतिनिधित्व देखिन्छ, खासगरी नेतृत्व र निर्णायक तहमा । यस्तो अवस्था अन्त्य गर्न तपाईंको भूमिका कस्तो रहन्छ ?
अझै पनि महिलाहरू प्रतिस्पर्धामा आउन सक्ने परिस्थिति तयार भएको छैन । पहिलाभन्दा अहिले महिलाको राजनीतिक दलमा काम गर्ने सवालमा सकारात्मक सोच निर्माण हुँदै गएको छ । कम्तीमा पनि एक तिहाइ महिला सबै कमिटी र राज्यका तहमा हुनु पर्दछ भन्ने नीतिगत व्यबस्थाका कारण महिलाको राजनीतिमा सहभागिता वृद्धि गर्न सहयोग पुगेको छ । तर पनि निर्णायक तहमा अहिले पनि महिलाहरुको उपस्थिति कमजोर छ भन्ने सवाल सत्य हो ।
पार्टीको सङ्गठित सदस्यहरु ५० प्रतिशत महिला बनाउनै पर्ने नीतिगत व्यवस्था आवश्यक छ । एक तिहाइको व्यवस्थालाई निर्णायक तहमा समेत लागू गर्ने गरी सबै दलहरूले केही समयलाई मात्र भए पनि बाध्यात्मक ब्यबस्था गरियो भने महिलाहरूलाई प्रतिस्पर्धी बन्न प्रोत्साहित गर्ने वातावरण तयार गर्छ । साझेदारी र ऐक्यबद्धता निर्माण गर्दै सपोर्टिभ मेकानिजम दलहरुभित्र निर्माण गर्नु पर्दछ ।