विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस पूर्वाञ्चल विश्वविद्यालय ‘कलेज अफ ल’ ले बीए/एलएलबीमा नयाँ भर्ना भएका विद्यार्थीलाई प्रशिक्षण दिएको छ ।

‘कलेज अफ ल’ का डाइरेक्टर महेशप्रसाद निरौलाले अध्ययनका लागि पूर्वाञ्चल विश्वविद्यालयलाई छनौट गरी अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गर्दै बीए एलएलबीको अध्ययनको महत्वबारे जानकारी दिएका थिए ।

विधिको शासनको स्थापना, समतामूलक न्यायको स्थापना, मानव अधिकार संरक्षण, शोषणको अन्त्य, प्रजातान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि कानूनको शिक्षा अपरिहार्य भएको बताउँदै निरौलाले बीए एलएलबी अध्ययन पछिको अवसरका विषयमा चर्चा गरेका थिए ।

कलेजले बीए एलएलबी अध्यापन गत वर्षदेखि शुरू गरेको र एलएलबीको अध्यापन २०७५ सालदेखि थालेको भए पनि शुरूको समयमा कलेज अफ लका विद्यार्थीले विश्वविद्यालयमा उत्कृष्ट बन्न सफल भएको उनले बताए ।

उपप्राध्यापक दिपककुमार खतिवडाले बीए एलएलबीको पाठ्यक्रमबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई अनुशासित भएर अध्ययन गर्न आग्रह गरे । बीए एलएलबीको पाँच वर्षको कोर्ष अध्ययनपछि विद्यार्थीले बेरोजगार बस्नु नपर्ने उनले सुनाए ।

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल पूर्व डाइरेक्टर एवं सह–प्राध्यापक डा. रमेशबाबु काफ्ले, ‘कलेज अफ ल’ की संयोजक नीता प्याकुरेल भट्टराई, गिरिश भट्टराई लगायतले विद्यार्थीहरूलाई अध्ययनबारे जानकारी गराएका थिए ।

287
Shares
११ मंसिर २०७९, आईतवार ०६:४८