विराटनगर । प्रदेश १ मा नेकपा (एमाले) ले तीन स्थानमा विजय हासिल गरेको छ । एमालेको ११ स्थानमा अग्रता छ । एमालेले ताप्लेजुङ, उदयपुर २ र झापा ५ मा विजय हासिल गरेको छ ।

नेपाली काँग्रेसले दुई स्थानमा वटामा विजय हासिल गरेको छ भने ५ स्थानमा अग्रता बनाएको छ ।

यस्तै माओवादी केन्द्रले ३ स्थानमा अग्रता बनाएको छ । रास्वपाले २, राप्रपाले १ र स्वतन्त्रले १ स्थानमा अग्रता लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् भने सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचिन भएका छन् । उदयपुर २ बाट एमालेका अम्बरबहादुर रायमाझी, विजयी बनेका छन् ।

एमालेका सुवासचन्द्र नेम्वाङले इलाम २ मा अग्रता बनाएका छन् । झापा २ मा देवराज घिमिरेको अग्रता छ ।

यस्तै लालप्रसाद साँवा लिम्बूले झापा ४ मा अग्रता कायम राखेका छन् भने बसन्तकुमार नेम्वाङको पाँचथरमा अग्रता छ ।

धनकुटामा एमालेका राजेन्द्रकुमार राई र मोरङमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

एमालेकै ऋषिकेश पोखरेल मोरङ २ मा अग्रस्थानमा छन् भने भगवती चौधरी, सुनसरी ३ मा अग्रस्थानमा छिन् ।

यसैगरी जगदिशप्रसाद कुसियतले सुनसरी ४ मा अग्रता कायमै राखेका छन् । सोलुखुम्बुमा मानबीर राईको अग्रता छ । इलाम १ मा एमालेका महेश बस्नेतले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै अग्रता कायम गरेका छन् ।

नेपाली काँग्रेसबाट हालसम्म झापा १ बाट विश्वप्रकाश शर्माले विजय प्राप्त गरेका छन् । रामहरि खतिवडा ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् ।

तेह्रथुममा कांग्रेसकी सीता गुरुङ अग्रस्थानमा छिन् । कांग्रेसका सुनील शर्मा, मोरङ ३ मा भारी मतान्तरका साथ अग्रस्थानमा छन् । उनले एमालेका भानुभक्त ढकाललाई निकै पछि पारेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, मोरङ ६ मा अग्रस्थानमा छन् । उनले एमालेका लालबाबु पण्डितलाई पछि पारेका छन् ।

संखुवासभामा कांग्रेसका दीपक खड्काले अग्रगता कायमै राखेका छन् भने उदयपुर १ मा डा. नारायण खड्काको अग्रता कायमै छ ।

माओवादी केन्द्रबाट भोजपुरमा सुदन किराँतीको अग्रता छ । अमनलाल मोदीले मोरङ ४ मा भारी मतान्तरका साथ अग्रता बढाइरहेका छन् ।

माओवादीका रामकुमार राईले खोटाङमा अग्रता बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनसरी १ मा गोमा तामाङ अग्रस्थानमा छन् । सुनसरी २ मा लालविक्रम थापाको अग्रता छ ।

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, झापा ३ मा अग्रस्थानमा छन् । उनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पछि पारेका छन्।

स्वतन्त्रबाट उम्मेदवारी दिएका एमालेका योगेन्द्र मण्डल, मोरङ ५ मा भारी मतान्तरका साथ अग्रता बढाइरहेका छन् ।

49
Shares
८ मंसिर २०७९, बिहीबार ०९:३०