गगन नुनिया

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरका मेयर नागेश कोइरालाले १५ वर्षअघि भाडा मोल्नेदेखि भ्याकुम क्लिनर प्रयोग गरी कोठाहरु सफा गर्ने काम गरेका थिए । विदेशमा उनले साथीहरुसँगै त्यसरी काम गर्नुपर्दा निकै कठिन हुने गरेको अनुभव सुनाए ।

अध्ययनका क्रममा अस्ट्रेलियामा रहँदा उनले यस्तो काम गरेका हुन् । ‘तीनवटा बिहेको जन्तीले प्रयोग गरेका भाँडा बराबर सफाइ गर्नुपर्थ्यो’ विराटनगरमा सोमबार आयोजित अन्तरक्रियामा कोइरालाले भने, ‘विदेश भनेर मात्र हुँदैन, त्यहाँ काम गर्न सजिलो छैन ।’

विदेशीहरु मरमसला उति नखाने भए पनि चिजजस्ता चिल्लो पदार्थ बढी खाने भएकाले भाँडाकुँदा सफा गर्न निकै मेहनत गर्नुपरेको उनले सुनाए । धेरै चिल्लो भएका भाँडा पन्जा लगाएर सफा गर्न कठिन हुने अनि हातैले सफा गर्दा छाला पिल्सिएर, उक्किएर हैरानी हुने गरेको उनले बताए ।

‘हात हेरिसक्नु हुँदैनथ्यो’ मेयर कोइरालाले भने, ‘बजारतिर जाँदा गोजीमा हात हालेर लुकाउनुपर्थ्यो ।’ कोठाहरु सफा, चिटिक्क पार्नुपर्ने भएकाले नियमित सफाइको काम पनि गर्नुपरेको उनले सुनाए ।

‘वेलकम होम’ परियोजना अन्तर्गत साझेदार संस्था कथा नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनी आफ्नो अनुभव सुनाउँदै थिए ।

नेपाली जुन देशमा गए पनि विशेष सीप नभएको अवस्थामा यस्तै सरसफाइका काम गर्नुपर्ने बाध्यता हुने उनले बताए ।

नेपालमा नै रोजगारी सिर्जना गर्न सके कसलै पनि विदेशिनुपर्ने अवस्था नहुने उल्लेख गरे । विदेशमा गर्ने काम नेपालमै गर्न सके उत्तिकै लाभ हुने अनि अझ व्यवस्थित रुपले काम गरे विदेशको भन्दा बढी कमाइ हुने उनको भनाइ थियो । त्यसैले विदेश जानुभन्दा स्वदेशमै इलम, उद्यम गर्नतिर ध्यान दिनुपर्ने कोइरालाले बताए ।

२०३० जेठ ३१ गते विराटनगरमा जन्मिएका कोइरालाले प्रारम्भिक शिक्षा भारतमा हासिल गरेका थिए । दिल्लीको विश्वविद्यालयबाट स्नातक गरेपछि उनी थप अध्ययनका लागि अस्ट्रेलिया गएका थिए ।

अध्ययनको खर्च घरबाट जान्थ्यो । तर उनी थप खर्च जुटाउन रहरैरहरमा अरु साथीहरुजस्तै काम पनि गर्थे । त्यसरी काम गर्नु अनि अध्ययन पनि सँगसँगै जारी राख्नु सहज थिएन । त्यसैले स्वदेशमै गर्न सकिने काम यतै गर्नुपर्ने उनको भनाइ छ ।

विदेश गएर विभिन्न क्षेत्रमा अनुभव गरेकाहरुलाई स्वदेश फर्किएपछि यतै व्यवसाय गर्न अनि आफ्नो सीप सदुपयोग गर्ने वातावरण बनाउन सरोकारवाला सबै लाग्नुपर्ने भन्दै उनले यसमा स्थानीय तहले पनि सहयोग गर्ने उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका मेयर कोइरालाले वेलकम होम परियोजना उपलब्धिमूलक हुने भएकाले यसलाई सफल बनाउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए ।

विदेशबाट फर्किएका नेपालीहरुको सीप स्वदेशमै उपयोग गर्ने अवस्था बनाउने उक्त कार्यक्रम सुरु भएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सञ्चालित ‘वेलकम होम’ परियोजना प्रदेश १ का मोरङ, सुनसरी र झापामा सञ्चालित छ ।

कार्यक्रमअन्तर्गत सञ्चारकर्मीलगायत अरु सरोकारवाला संस्थाका प्रतिनिधि सहभागी गराएर झापाको चन्द्रगढीमा आइतबार छलफलल गरिएको थियो ।

यसैगरी सोमबार विराटनगरमा आयोजना गरिएको उक्त कार्यक्रम मंगलबार सुनसरीको इटहरीमा सञ्चालन गरिएको कथा नेपालकी शिवानी भट्टराईले बताइन् ।

उक्त संस्थाका अर्का प्रतिनिधि सरोज भण्डारीका अनुसार अन्तक्र्रिया कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सञ्चार माध्यमका पत्रकारहरु, सरोकारवाला संस्थाहरुका प्रतिनिधिलगायतको सहभागिता थियो ।

परियोजना युरोपेली संघको सहयोगमा ब्रिटिस काउन्सिलद्वारा ‘व्यवस्थित दक्षता व्यावहारिक साझेदारी’ अन्तर्गत आइएलओद्वारा कार्यान्वयन गरिएको हो । यसको साझेदार संस्थाका रुपमा कथा नेपाल रहेको छ ।

परियोजनाको मुख्य उद्देश्य स्थानीय तहलाई जिम्मेवार बनाएर क्षमता अभिवृद्धि गराउँदै वैदेशिक रोजगारबाट फर्केकाहरुलाई समाजमा पुनःएकीकरण गराउनु भएको आयोजकको भनाइ छ ।

कथा नेपालका प्रबन्ध निर्देशक मनोजराज पाण्डेका अनुसार विदेशबाट सीप सिकेर फर्किएका नेपालीहरुलाई उनीहरुको सीप स्वदेशमै प्रयोग गर्ने वातावरण तयार पार्न परियोजनाले सहयोग पुर्याउने छ ।

त्यसका लागि धेरैभन्दा धेरै जनासम्म जानकारी पुर्याउनुपर्ने आवश्यकताका आधारमा संस्थाले लक्षित क्षेत्रका सञ्चारकर्मी र सरोकारवाला अरू संस्थाका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम गर्दै आएको उनले बताए ।

परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई रोजगारीमा आबद्ध गराई, उद्यमशीलताको प्रवर्द्धन गरी सामाजिकीकरण गर्ने जनाइएको छ । परियोजनाका लागि नेपाल सरकारले निर्देशिका कमिटी २०७९ समेत सार्वजनिक गरिसकेको छ ।

परियोजनाले मुख्यतः कृषि, पर्यटन र निर्माण क्षेत्रमा काम गर्ने वेलकम होमका नेपाल संयोजक ताराप्रसाद बखरियाले जानकारी दिए ।

(प्रशिक्षार्थी)

3.7k
Shares
१ कार्तिक २०७९, मंगलवार १७:५४