विराटनगर । विदेशबाट फर्किएका नेपाली कामदारहरुको सीप स्वदेशमै उपयोग गर्ने अवस्था बनाउने पहल सुरु गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा सञ्चालित ‘वेलकम होम’ परियोजना मार्फत् यस्तो पहल सुरु भएको हो ।

उक्त परियोजना युरोपेली संघको सहयोगमा ब्रिटिस काउन्सिलद्वारा ‘व्यवस्थित दक्षता व्यावहारिक साझेदारी’ अन्तर्गत आइएलओद्वारा कार्यान्वयन गरिएको हो ।

परियोजनाबारे जानकारी दिन सोमबार विराटनगरमा पत्रकार अन्तरक्रिया आयोजना गरिएको थियो । यस्तै कार्यक्रम आइतबार झापाको चन्द्रगढीमा आयोजना गरिएको थियो ।

मंगलबार सुनसरीको इटहरीमा पनि कार्यक्रम आयोजना हुने परियोजनाको साझेदार संस्था ‘कथा नेपाल’ की शिवानी भट्टराईले जानकारी दिइन् ।

यो परियोजना प्रदेश १ को झापा, मोरङ र सुनसरीमा सञ्चालन भइरहेको छ । परियोजनाको मुख्य उद्देश्य स्थानीय तहलाई जिम्मेवार बनाएर क्षमता अभिवृद्धि गराउँदै वैदेशिक रोजगारबाट फर्केकाहरुलाई समाजमा पुनःएकीकरण गराउनु भएको आयोजकको भनाइ छ ।

त्यसबाहेक परियोजनाले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई रोजगारीमा आबद्ध गराई, उद्यमशीलताको प्रवर्द्धन गरी सामाजिकीकरण गर्ने जनाइएको छ । परियोजनाका लागि नेपाल सरकारले निर्देशिका कमिटी २०७९ समेत सार्वजनिक गरिसकेको छ ।

परियोजनाले मुख्यतः कृषि, पर्यटन र निर्माण क्षेत्रमा काम गर्ने वेलकम होमका नेपाल संयोजक ताराप्रसाद बखरियाले जानकारी दिए ।

परियोजनाको अवधि अढाई महिनाको मात्र भएको र यसको उपलब्धिको मूल्यांकन गरी स्वीस सरकारसँग वृहत् योजनाका लागि नेपाल सरकार सम्झौता नजिक पुगेको संयोजक बखरियाले बताए ।

ओरेक नेपाल, मोरङकी कार्यक्रम संयोजक सीमा साहले स्थानीय तहसँग सहकार्य गर्दै नेपाली महिलाको सामाजिक र आर्थिक उत्थानको काम गरिरहेको बताइन् ।

‘हामीले विभिन्न स्थानीय तहका सार्वजनिक र निजी दुवै क्षेत्रसँग साझेदारी गर्दै काम गरिरहेका र्छौं’ उनले भनिन्, ‘केही महिनादेखि हामीले सामूहिक रूपमा अझै कसरी नतिजामुखी सहकार्य गर्न सक्छौँ भनेर छलफल गरिरहेका र्छौं ।’

ओरेक नेपालले वेलकम होमसँगको सहकार्यमा मोरङको रंगेली, उर्लाबारी, केराबारी र लेटाङमा समिति गठन गरिसकेको छ ।

मोरङका अन्य पालिकाले पनि समिति गठन गर्ने प्रतिबद्धता जनाएको संयोजक साहले बताइन् । वेलकम होम र ओरेक नेपालले संयुक्त रूपमा विदेशबाट फर्किएका २० नेपालीलाई सूर्य एग्रिकल्चर फार्ममा एक महिनादेखि तालिम दिइरहेको जानकारी संयोजक साहले दिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलावल्लभ घिमिरेले नेपाली पत्रकारले मिसन पत्रकारिता छाडेर विकासको पत्रकारिता गर्न सके देशले फड्को मार्न समय नलाग्ने बताए ।

विदेशिएको मानिसको शव आउँदा त्यसको समाचार लेख्ने तर त्यसबारे विस्तृत रूपमा फलोअप गर्न नसक्दा विदेशिने मानिसको कथा, व्यथा र समस्याका विषयले नेपाली सञ्चारमाध्यममा प्राथमिकता पाउन नसकिरहेकोतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वेलकम होम परियोजनालाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए ।

अध्ययनका क्रममा अस्ट्रेलियामा रहँदा आफूले भोगेको समस्या सुनाउँदै मेयर कोइरालाले नेपालमा नै रोजगारी सिर्जना गर्न सके कसलै पनि विदेशिनुपर्ने अवस्था नहुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु