विराटनगर । शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ । उपचारको क्रममा १०३ वर्षको उमेरमा उनको काठमाडौंमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार पुनः आईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको लेखक गिरीश गिरीले जानकारी दिएका छन् । गिरीले जोशीको जीवनीमा आधारित पुस्तक लेखेका छन् ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । असहज भएपछि क्याबिनबाट आईसीयूमा सारिएको थियो ।

जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए।

नेपाली संस्कृतिका धरोहर मानिने जोशी धेरैका लागि उदाहरणीय अग्रज पात्र हुन् । उनको जीवन गाथाले प्रेरणा दिएर आफ्नो क्षेत्रमा स्थापित धेरै व्यक्तिहरु छन् ।

वि. सं. १९७७ वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका सत्यमोहन जोशी सत्यमोहन जोशीले ‘हाम्रो लोक संस्कृति’ लागि पहिलोपटक २०१३ सालमा मदन पुरस्कार पाएका थिए।

नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि उनले संयुक्त रूपमा तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।

संस्कृतिविदका रुपमा सुपरिचित सत्यमोहन साहित्यकार पनि हुन्।

उनले त्रिचन्द्र कलेजबाट बिएसम्म अध्ययन गरेका थिए। जोशी २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक थिए।

२०१६ सालमा पाँचौँ शताब्दीदेखि बिसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरण सहितको नेपाली मुद्रा नामक पुस्तक प्रकाशित गरेका थिए ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार दिइएको छ ।

यसैगरी काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ ।

उनले तीन पटकसम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।ृे

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका थिए।

उक्त कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषयहरू समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु