अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लिए पनि सुटुक्क छाडियो
विराटनगर । नियन्त्रणमा लिइएको ८ ट्रक सुपारी भारत निर्यात भएको छ । नियन्त्रणमा लिएर अनुसन्धान गर्ने भनिए पनि राजश्व अनुसन्धान कार्यालय इटहरीले सुटुक्क छाडिदिएपछि सुपारी भारत निर्यात भएको हो ।
नियन्त्रणमा लिइएको सुपारी र सम्बन्धित व्यक्तिहरुबारे अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको थियो ।
राजश्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत तीर्थराज खनालले उच्च अदालतबाट मुद्दा फिर्ता भएको, विराटनगर भन्सारले पत्र दिएको र राजश्व अनुसन्धान विभागले जस्ताको त्यस्तै अवस्थामा सुपारी जान दिनु भनी निर्देशन दिएपछि सुपारी छाडिएको बताए ।
असोज १३ गते राजश्वले छाडेपछि भारत निर्यात भइसकेको उनले बताए । यसअघि उनले असोज १३ गते नै सुपारी निर्यातकर्ताले उच्च अदालत विराटनगरबाट मुद्दा फिर्ता लिएको जानकारी आइनसकेको र अनुसन्धान भइरहेको बताएका थिए ।
सुपारी निर्यातकर्ता मनकामना ट्रेडर्स विराटनगर ९ का सञ्चालक नवीन घिमिरेले उच्च अदालतमा साउन २६ गते सुपारी तत्काल छाड्न र भारतको जोगबनी भन्सार कार्यालयले लगाएको सिल यथास्थितिमा राख्न उत्प्रेषण, परमादेश, प्रतिषेध मुद्दा दायर गरेका थिए । घिमिरेले राजश्व अनुसन्धान कार्यालय इटहरी, विराटनगर भन्सार कार्यालय, भन्सार विभाग र जिल्ला प्रहरी मोरङलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
विपक्षीहरु उपरको दावी प्रमाणित गर्न नसक्ने भएकाले रिट फिर्ता गरी पाउँ“ भनेर घिमिरेले निवेदन दिएपछि उच्च अदालतले निवेदन फिर्ताको आदेश गरेको थियो ।
घिमिरेले उक्त मुद्दा फिर्ताका लागि निवेदन दिएपछि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय राजनप्रसाद भट्टाई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार रिट निवेदन फिर्ताको आदेश दिएका थियो ।
उच्च अदालतले सुपारीको डीएनए परीक्षण गराएर नेपालको उत्पादित हो होइन जाँच गराउने स्थिति निर्माण भएपछि अन्तिम सुनुवाई हुनु अगाडि नै घिमिरेले रिट फिर्ता लिएका थिए ।
घिमिरे सञ्चालक रहेको मनोकामना ट्रेडर्सले भारतको आइसा एक्सपोर्ट कलकतालाई बिक्री गरेको करिब ८ करोड ६३ मूल्य बराबरको २ लाख १९ हजार ५९६ किलो सुपारीसहित ८ वटा ट्रक, चालक र सहचालक गरी ८ जनालाई प्रहरीले रानीबाट साउन ५ गते नियन्त्रणमा लिएको थियो ।
त्यसपछि कारबाहीका लागि साउन ७ गते राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । उक्त सुपारी एकीकृत भन्सार जाँच चौकी विराटनगरबाट जाँच पास भएर भारतको जोगबनी एकीकृत भन्सारले समेत पास गरी री–रुट गरेर भारत लग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको थियो ।
इण्डोनेसियाबाट आयात भएको उक्त सुपारी कागजी प्रक्रिया मिलाएर भारत निर्यात गर्न लागेको भनेर स्थानीय ब्यापारी तथा राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सदस्य रमेशजंग रायमाझीले स्थानीय प्रहरीलाई दवाव दिएपछि नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको थियो ।
विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार इन्डोनेसियाको सुपारी थाइल्याण्ड र सिंगापुरको पोर्टबाट विराटनगरको ६ वटा व्यापारिक फर्मले गत आर्थिक वर्षमा ७५ करोड ४९ लाख ३२ हजार मूल्य बराबरको ५ हजार ७८४ दशमलव २६ मेट्रिकटन सुपारी आयात गरेका थिए ।
प्रहरीले नियन्त्रणमा गरेको ८ ट्रक सुपारीसहित ९० करोड ६७ लाख १८ हजार मूल्य बराबरको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात भएको विराटनगर भन्सारको तथ्यांकले जनाएको छ ।
सुपारी आयात गर्नेमा सौर्य एयरलायन्सका सञ्चालक झापाका दिपक पोखरेलको अम्बे ट्रेडिङ, विराटनगरका दिनेश राठीको राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेशनल, विराटनगरका प्रदिप मुरारकाका पिके ट्रेडर्स, विराटनगरका मुलचन्द राठीको तिरुपति ट्रेड लिंक्स र विराटनगरकै संजय अग्रबालको नेशनल मोटर्स छ । सुपारी निर्यात गर्नेमा मनोकामना ट्रेडर्स मात्रै छन् ।