विराटनगर । युवकको हत्यामा संलग्न भएको आरोपमा होटल सञ्चालकसहित ३ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । आरोपित एक जना फरार छन् ।

हत्याको आरोपमा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित ताप्लेजुङ–इलाम होटलका सञ्चालक इलाम नगरपालिका–९ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, होटलका कामदार २१ वर्षीय अमृत आचार्य र उनकी पत्नी २३ वर्षीया विमला राई पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेर सोमबार सार्वजनिक गरेको छ ।

झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार पक्राउ परेका ३ जनासहित ४ जना मिलेर ताप्लेजुङ घर भइ अर्जुनधारा–११ मा बस्दै आएका २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फरार रहेका एक जनाको खोजी भइरहेको जानकारी उनले दिए ।

पोखरेलका अनुसार दसैंको महाअष्टमीका दिन अर्थात असोज १७ गते राति गुरुङको हत्या भएको थियो । हत्यामा संलग्नहरु र हत्या गरिएका युवक मादक पदार्थ सेवन (मापसे) गरी सोही रात होटलमै तास खेलेर बसेको प्रहरीले जनाएको छ । तासमा पैसा हारजीत भएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि मसला पिस्ने ढुंगाको लोहोरो र चक्कुले टाउकोमा प्रहार गरेर गुरुङको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि घटनालाई ढाकछोप गर्ने उदेश्यले होटलदेखि लगभग १ सय ५० मिटर टाढाको कान्तिपुर ड्राइभिङ सेन्टरअगाडिको प्लटिङ जग्गानजिकको सडक किनारमा लगेर शव फालेको एसपी पोखरेलले बताए । उनका अनुसार गुरुङको शव महानवमीका दिन अर्थात असोज १८ गते बिहान फेला परेको थियो ।

हत्यामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

126
Shares
२४ आश्विन २०७९, सोमबार १८:०९