मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ३३५० र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा राति ११ः२५ बजेतिर दुर्घटना भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।
३३५० नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–४ का ४५ वर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा आज (शनिबार) बिहानका राति १ः३५ बजेतिर मृत्यु भएको हो ।दुर्घटनामा ३३५० नम्बरको मोटरसाइकलको पछाडि सवार कन्काई–४ का ५३ वर्षीय रामबहादुर अधिकारी घाइते भएका छन् । अधिकारीको बी एन्ड सीमै उपचार भइरहेको छ । दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।