काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार स्वदेश फर्कने भएका छन् । कतार एयरवेजको उडानबाट उनी फर्कन लागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनी आफैंले बिहान १० बजे नेपाल फर्कन लागेको जानकारी दिएका छन् । काठमाडौं आइपुग्नासाथ उनले प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गर्ने जनाइएको छ ।

सन्दीपले आफूमाथि गलत आरोप लागेको दाबी गर्दै छानबिनमा प्रहरी, प्रशासनलाई सहयोग गर्ने बताउँदै आएका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई पनि उपस्थित गराइदिन प्रहरीलाई उनले अनुरोध गरिसकेका छन् ।

उनीमाथि १७ वर्षीया नाबलिगलाई बलात्कार गरेको आरोप छ । लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा पीडित भनिएकी किशोरीले भदौ २१ गते जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरीमा गत भदौ ५ गते साँझ लामिछानेले नगरकोट लगेको र त्यही रात फर्किएर गौशालाको एक होटलमा पुर्याएर जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ ।

जाहेरीमा उल्लेख गरेका केही विषय उद्धृत गर्दै प्रहीले जारी गरेको विज्ञप्तिमा लामिछानेले किशोरीलाई भदौ ५ मा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगी पुनः त्यही रात ११स्५५ मिनेटमा गौशालाको एक होटलमा ल्याई पटकपटक जबर्जस्ती करणी गरेको उल्लेख छ ।

दुवै जना भोलिपल्ट बिहान पौने ७ बजेतिर होटलबाट बाहिरिएका थिए । जाहेरीमा किशोरीले आफूले लामिछानेसँग सामाजिक सञ्जाल (स्न्याप च्याटमार्फत) एक प्रशंसकका रूपमा कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर होटलमा लगी बलात्कार गरेको बताएकी छन् ।

जाहेरीलगत्तै प्रहरीले घटनास्थल पुगेर सीसीटीभी फुटेज निकाल्नुका साथै होटल सञ्चालकसँग पनि सोधपुछ गरिसकेको छ ।

उक्त घटनापछि लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोबी प्रस्थान गरेका थिए ।

उनी त्यतैबाट सीपीएल खेल्न वेस्ट इन्डिज गए । उनी उतै हुँदा यहाँ उजुरी परेपछि उनी कानुनी प्रबन्ध मिलाउनका लागि उतै बसेर बिहीबार मात्र फर्किन लागेका हुन् ।

प्रहरीले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरेको छ । संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ ।

संहितामा १६ देखि १८ वर्ष उमेरको नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु