विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ को प्रतिनिधित्व गर्ने खेलाडी छान्न विराटनगरमा छनोट खेलहरु भइरहेका छन् । विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडी सीमित स्रोत साधनका बीच खेल कौशल बढाउन परिश्रम गरिरहेका छन् ।

प्रदेश १ ले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने विभिन्न खेल विधाका लागि छनोटका साथै प्रशिक्षणको क्रम पनि जारी छ । यस क्रममा उनीहरुले आयोजकबाट प्रोत्साहन र भरथेग पाउन सकेका छैनन् ।

प्रदेशभरका १४ जिल्लाबाट खेलाडी छनोट गर्ने क्रम जारी छ । फुटबलका खेलाडी छनोट गर्न खेलहरु सञ्चालन भइरहेका छन् । स्वाभाविक हो, खेलका क्रममा खेलाडीहरु घाइते हुन सक्छन् । घाइते भएका खेलाडीहरुको उपचार गर्नेलगायत व्यवस्था आयोजकले गर्नुपर्ने हो ।

उपचारको कुरा त परै, आयोजकले वास्ता समेत नगरेको खेलाडी एवं प्रशिक्षकहरुले गुनासो गरेका छन् । घाइते खेलाडीहरु आफैं उपचारमा लाग्नुपरेको छ ।

फुटबल खेल्दा घाइते भएका २१ वर्षीय जीवन मगर, बिरामी परेका प्रशिक्षक दीपक चौहान र खेलाडी सुनील गजमेरको संखुवासभा फुटबल टोलीले नै उपचार गरिरहेको छ । गर्धनमा चोट लागेका मगरको सिटीस्क्यान जस्ता परीक्षण अनि अरु दुईजनाको परीक्षण र उपचार टोलीले आफ्नै खर्चमा गरिरहेको छ ।

खेलाडीलाई कुनै समस्या पर्दा हेरचाह गर्नुपर्ने दायित्व आयोजक राष्ट्रिय खेलकुद परिषद र प्रदेश १ खेलकुद विकास बोर्डलगायत निकाय हुन् । घाइते भएको, बिरामी भएको जस्ता कुरा सार्वजनिक हुँदा पनि उनीहरुले चासो नदेखाएको एकजना प्रशिक्षकले बताए ।

राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडी तयार गर्न आयोजना गरिएको छनोट प्रक्रियामा म्याच एसेसेर, प्रतियोगिता संयोजक कोही खेल स्थलमा उपस्थित हुने नगरेको गुनासो पनि चुलिएको छ ।

सबैको उपचार आफूहरुले नै गर्दै आएको उल्लेख गर्दै संखुवासभाका टोलीका व्यवस्थापक राज श्रेष्ठले यस्तो अवस्थामा पनि जिम्मेवार पदाधिकारीले वास्ता नगरेकामा आश्चर्य व्यक्त गरे ।

पहिलो दिन उपचारका लागि गोल्डेन अस्पताल गएका बेला फुटबल समितिका अजित सिंहले अवस्थाबारे जानकारी लिएका थिए । आयोजक निकायका पदाधिकारीले भने वास्तै नगरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु