विराटनगर । नवौं राष्ट्रिय खेलकुद छनोटका लागि फुटबल खेल्न आएका खेलाडी बिरामी पर्न थालेका छन् । पहाडी जिल्लाका खेलाडीमा गर्मीको प्रभावले स्वास्थ्यमा समस्या देखिन थालेको छ । कतिपय खेलाडी घाइते भएर उपचारका लागि अस्पतालहरु धाइरहेका छन् ।
चर्को गर्मी, विश्रामबिना लगातार खेल, खेलस्थल आउन लामो दूरीको यात्रा जस्ता कारणले उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । खेल्ने क्रममा घाइते भएका खेलाडीको समयमै उपचार हुन सकिरहेको छैन ।
विराटनगरको सहिद मैदानमा बिहीबार दिउँसो ओखलढुंगा र संखुवासभाबीच भएको छनोट खेलमा संखुवासभाका दुईजना खेलाडी घाइते भएका थिए ।
चर्को घाममा खेलाइएको खेलमा घाइते भएका उनीहरु आफैं राति अबेरसम्म उपचारका लागि अस्पतालहरु धाएका थिए । खेलका क्रममा चोट लागेपछि उनीहरुलाई अस्पताल लैजानु परेको संखुवासभा टोलीका ब्यवस्थापक राज श्रेष्ठले बताए ।
खेलमा संखुवासभाले ओखलढुंगालाई २ का विरुद्ध ३ गोलले पराजित गरेको थियो । संखुवासभा कुन्ताङका २१ वर्षीय जीवन मगर पहिलो हाफमा बाइसाइकल किक प्रहार गर्ने क्रममा घाइते भएका थिए ।
मैदानमै तत्काल प्राथमिक उपचारपछि उनी पहिलो हाफसम्म खेलेका थिए । संखुवासभाका प्रशिक्षक दीपक चौहान घाइते खेलाडी मगरको अवस्था अलि असहज अनुभव गरेपछि कुरा गरेका थिए ।
मगरले छिनछिनमा कुरा बिर्सने र सम्झने गरेको चौहानले बताए । गर्धनमा चोट लागेको हुनसक्ने अनुमान गरेका प्रशिक्षक चौहान र टोली ब्यवस्थापक श्रेष्ठले आयोजक प्रदेश १ खेलकुद विकास बोर्डका पदाधिकारी, जिम्मेवार व्यक्तिहरुसँग सम्पर्कको प्रयास गरेका थिए ।
खेलस्थलमा आयोजक कोही नभेटेपछि घाइते खेलाडीलाई विराट नर्सिङ अस्पताल लगेका थिए । उनीहरु अस्पतालमा रहेकै बेला अर्का खेलाडी सुनील गजमेरको अवस्था पनि अस्वाभाविक भएको भन्दै खबर गरे ।
प्रशिक्षक चौहानका अनुसार नयाँ ठाउँ, चर्को गर्मी अनि आएदेखि लगातार खेलिरहनु परेकाले खेलाडीको स्वास्थ्यमा समस्या देखिएको हो । खेलाडीले विश्रामको अवसर पाउन नसकेको उनको भनाइ छ ।
विराटनगरमा खेल्नका लागि उनीहरुले इटहरीबाट धाइरहेका छन् । टोलीलाई त्यहीँ बस्ने व्यवस्था गरिएको हो ।
गजमेरलाई कोसी अस्पतालमा लगियो । तर बिरामीको निकै चाप देखेपछि नजिकैको गोल्डेन अस्पताल पुर्याएर उपचार गरिएको थियो ।
टोली ब्यवस्थापक श्रेष्ठका अनुसार खेलाडीको अवस्था नाजुक भए पनि कसैले वास्ता गरेको छैन । शुक्रबार सेमिफाइनल खेल हुने तय भएको छ । दिउँसोको चर्को घाममा खेल भए खेल्न नसक्ने अवस्थामा खेलाडी रहेको उनले बताए ।
खेल अवधिभर जिम्मेवार पदाधिकारी मैदान आसपास देखिएका थिएनन् । श्रेष्ठले छनोट खेलमा गैरजिम्मेवारी र लापर्बाही भइरहेको आरोप लगाए ।
प्रदेश खेलकुद विकास बोर्डले फुटबल खेलाडीलाई प्रतिदिन १ हजार ६ सय रुपैयाँ उपलब्ध गराएको छ । खानेबस्ने खर्च त्यसैबाट गर्नुपर्छ ।