काठमाडौँ । संस्कृति संरक्षणको नाममा समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास, जातीय विभेद र रूढीवादी परम्परालाई बढावा दिने चलचित्र निर्माण तथा प्रदर्शन रोक्न कानुनी व्यवस्था गर्नुपर्ने माग प्रतिनिधिसभाका सांसदहरूले गरेका छन्।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले यस्तो धारणा राखेका हुन्।

छलफलमा सांसदहरूले चलचित्र समाजको सोच, व्यवहार र सामाजिक चेतना निर्माणमा प्रभाव पार्ने महत्वपूर्ण माध्यम भएकाले यसको निर्माण तथा प्रदर्शनमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनीहरूका अनुसार संस्कृति र परम्पराको संरक्षण आवश्यक भए पनि त्यसकै नाममा जातीय विभेद, छुवाछुत, अन्धविश्वास तथा समाजलाई पछाडि धकेल्ने कुप्रथालाई सामान्यीकरण गर्ने सामग्रीलाई प्रोत्साहन गर्न नहुने विषयमा कानुनी स्पष्टता आवश्यक छ।

त्यस्तै, चलचित्र जाँच समितिले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरी अन्तरिम आदेश ल्याउने प्रवृत्तिका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेका छन्।

यस्तो अवस्था रोक्न चलचित्रसम्बन्धी निर्णय प्रक्रिया, नियमन र कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको क्षेत्राधिकार स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने उनीहरूको माग छ।

चलचित्र विधेयकमाथिको छलफलमा अभिव्यक्ति स्वतन्त्रता, सिर्जनात्मक अधिकार, सामाजिक मर्यादा र विभेदमुक्त समाज निर्माणबीच सन्तुलन कायम गर्नुपर्ने विषय पनि महत्वपूर्ण देखिएको छ।

सांसदहरूले उठाएका विषयले चलचित्र क्षेत्रलाई व्यवस्थित बनाउनुका साथै कला तथा संस्कृतिको नाममा सामाजिक विभेद र हानिकारक परम्परालाई निरन्तरता दिने प्रवृत्तिमाथि कानुनी बहस आवश्यक रहेको संकेत गरेको छ।

7
Shares
९ मंसिर २०८३, मंगलवार १६:०८