काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार के.सी. र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत (चार्जे डी अफेयर्स) मेगन बोल्डिनबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटवार्ताका क्रममा नेपाल र अमेरिकाबीच विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्य र विपद् पीडितको पहिचानसम्बन्धी सहकार्यका विषयमा विस्तृत छलफल भएको छ।

सो अवसरमा अमेरिकी कार्यवाहक राजदूत बोल्डिनले विपद्बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई अमेरिकी सरकारका तर्फबाट निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिक तथा अन्य प्रभावित व्यक्तिहरूको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरेकी छन्।

भेटवार्तामा विशेषगरी विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने, विपद् पीडित पहिचान (Disaster Victim Identification–DVI) प्रणालीलाई थप सुदृढ गर्ने तथा यस क्षेत्रमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा कुराकानी भएको थियो।

विपद्का घटनामा हराएका तथा मृत्यु भएका व्यक्तिको पहिचान, पीडित परिवारलाई सही जानकारी उपलब्ध गराउने र उद्धार कार्यलाई व्यवस्थित बनाउने सन्दर्भमा DVI प्रणाली महत्वपूर्ण मानिन्छ।

नेपालमा भूकम्प, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा खोज, उद्धार र पहिचान कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय प्राविधिक सहयोग र अनुभव आदानप्रदानले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

नेपाल प्रहरी र अमेरिकी पक्षबीच भएको यो भेटवार्ताले विपद् व्यवस्थापन तथा मानवीय उद्धारका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

14
Shares
९ मंसिर २०८३, मंगलवार १५:५२