झापा । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित सीमा क्षेत्रमा जङ्गली हात्तीको प्रवेश बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। सौर्य विद्युतीय घेराबारा तोड्दै दैनिक ठूलो सङ्ख्यामा हात्ती नेपाल प्रवेश गर्न थालेपछि बस्ती र किसानको खेतबारीमा जोखिम बढेको हो।
साँझ परेपछि हात्तीको बथान सीमा क्षेत्रबाट बाहुनडाँगीतर्फ प्रवेश गर्ने गरेको छ। हात्तीको आवागमन रोक्न विद्युतीय घेराबारा निर्माण गर्नुका साथै सुरक्षाकर्मी परिचालन गरिए पनि उनीहरूको प्रयासका बाबजुद हात्तीको बथान नेपाल छिर्ने गरेको छ।मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
यतिबेला किसानको धानबाली भित्र्याउन बाँकी रहेकाले हात्तीको प्रवेशले थप क्षति पुर्याउन सक्ने चिन्ता बढेको छ। खेतमा काटेर राखिएको धान र कुन्युमा हात्तीले क्षति पुर्याउन थालेको वडाध्यक्ष कार्कीले बताएका छन्।पाकेको धानबाली जोगाउन जिल्ला प्रशासन कार्यालय झापाको पहलमा केही दिनयता सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक परिचालन गरिएको थियो। सुरक्षाकर्मीको टोलीले हात्ती रोक्ने प्रयास गरे पनि बथान नियन्त्रणमा लिन सकेको छैन।
हात्तीको निरन्तर आवागमनले स्थानीयको जनधन र कृषि उपजमा जोखिम बढाएको भन्दै दीर्घकालीन नियन्त्रण तथा प्रभावकारी सुरक्षा व्यवस्थापनको आवश्यकता देखिएको छ।