काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को हालै सम्पन्न भारत भ्रमणका उपलब्धिबारे देशवासीलाई स्पष्ट जानकारी गराउन माग गरेका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै सभापति थापाले भ्रमणका क्रममा भएका केही सकारात्मक र उपलब्धिमूलक विषयको स्वागत गरे पनि नेपालको दीर्घकालीन राष्ट्रिय हितसँग जोडिएका विषयमा पर्याप्त जानकारी सार्वजनिक नभएको बताएका हुन्।उनले भारत भ्रमणका क्रममा भएका सकारात्मक कामलाई आफूहरूले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै नेपालको दीर्घकालीन हितका विषयमा भने थप स्पष्टता आवश्यक रहेको धारणा राखे।
थापाले भने, “प्रधानमन्त्रीको भर्खर भारत भ्रमण भयो। केही उपलब्धिमूलक कुराहरू भएका छन्, स्वागत गरेका छौँ हामीले। सकारात्मक भनेका छौँ।”उनले भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा के–कस्ता उपलब्धि हासिल भए भन्नेबारे आफूहरूले अहिलेसम्म स्पष्ट जानकारी नपाएको बताए।
भ्रमणका विषयमा हतारमा टिप्पणी नगर्ने स्पष्ट पार्दै थापाले प्रधानमन्त्री स्वयंले देशवासीलाई भ्रमणका उपलब्धि र त्यसबाट नेपालले प्राप्त गरेका लाभबारे जानकारी गराउनुपर्नेमा जोड दिए।उनले भने, “नेपालका केही दीर्घकालीन हितका विषयहरूको सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ। हामी बोल्न हतार गर्दैनौँ। तर हामी माग गर्छौँ कि प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ। के–के भएका हुन्, उपलब्धिहरू के–के हुन्।”
प्रधानमन्त्री बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गरेका थिए। उक्त भ्रमणका क्रममा दुई देशबीच भएका छलफल, समझदारी र नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषयबारे सरकारले थप विवरण सार्वजनिक गर्नुपर्ने माग थापाले अघि सारेका हुन्।
प्रधानमन्त्रीको विदेश भ्रमणका उपलब्धि, कूटनीतिक छलफल र दीर्घकालीन राष्ट्रिय हितका विषयमा सरकारले संसद् तथा आमनागरिकलाई जानकारी गराउनु लोकतान्त्रिक जवाफदेहिताको महत्वपूर्ण पक्ष हो।