बर्दिया । घरको आँगनमा खेलिरहेकी १३ वर्षीया किशोरीको चितुवाको आक्रमणबाट ज्यान गएको छ। बर्दियाको राजापुर नगरपालिका–१० मझरामा भएको यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार चितुवाको आक्रमणबाट कमलासिंह ठकुरीको मृत्यु भएको हो। सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले अचानक आक्रमण गरी उनलाई घिसारेर लगेको थियो।

किशोरी बेपत्ता भएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर पश्चिम–दक्षिणतर्फ रहेको सिमलको झ्याङमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घाँटी तथा शरीरका संवेदनशील भागमा चोट लागेको अवस्थामा शव फेला परेको हो। घटनापछि परिवार शोकमा डुबेको छ भने स्थानीय बासिन्दामा वन्यजन्तुको आक्रमणको त्रास बढेको छ। उनको शव परीक्षणका लागि राजापुर नगर अस्पतालमा राखिएको छ।

राजापुर क्षेत्रमा चितुवाको आक्रमणबाट मानवीय क्षति भएको यो चालु आर्थिक वर्षको दोस्रो घटना हो। यसअघि गत असोज २२ गते राजापुर नगरपालिका–३ तिघ्राका ४२ वर्षीय मङ्गल थारुको पनि चितुवाको आक्रमणबाट मृत्यु भएको थियो।

उक्त घटनापछि डिभिजन वन कार्यालय बर्दियाले दुईवटा खोर राखेर एक साताभित्र चितुवालाई नियन्त्रणमा लिएको थियो।

एउटै क्षेत्रमा छोटो अवधिमा चितुवाको आक्रमणबाट दुई जनाको ज्यान जानुले स्थानीय नागरिकको सुरक्षा र वन्यजन्तु व्यवस्थापनको विषयलाई गम्भीर बनाएको छ। अब यस्ता दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ।

14
Shares
९ मंसिर २०८३, मंगलवार १२:३२