काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीज पर्वले नेपाली महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षलाई उजागर गर्ने महत्त्वपूर्ण पर्व भएको बताएका छन् । मंगलबार तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यो पर्वले नेपाली समाजमा महिलाको भूमिकालाई उजागर गर्नुका साथै परिवार र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान दिएको उल्लेख गरे ।
उनले तीजले विशेषगरी चेलीबेटी र माइतीबीचको आत्मीय सम्बन्धलाई अझ नजिक बनाउने काम गर्दै आएको प्रष्ट पारे । देउवाले भने, “तीजले महिलाको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।”
सभापति देउवाले नेपाल विविध धर्म, संस्कृति र परम्परागत मान्यताले भरिएको मुलुक भएकाले प्रत्येक पर्वले नेपाली समाजको मौलिकता झल्काउने बताए । उनका अनुसार तीज पर्व केवल धार्मिक वा सांस्कृतिक मात्र नभई सामाजिक समरसता, सौहार्द, एकता र विश्वासलाई बलियो बनाउने एउटा अवसर पनि हो । उनले तीजजस्ता पर्वहरूले नेपाली समाजलाई एउटै साझा फूलबारीको रूपमा प्रस्तुत गर्ने बताउँदै यस पर्वले महिलाको मात्र नभई समग्र नेपाली समाजको सांस्कृतिक पहिचानलाई मजबुत बनाएको उल्लेख गरे ।
उनले भने, “तीजजस्ता पर्वले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ । यी पर्वहरू हाम्रो पहिचान हुन्, हाम्रो गौरव हुन् ।”
यस अवसरमा देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरे । उनले महिलाले परम्परा र संस्कृतिलाई जोगाउने मात्र नभई समाजलाई एकताको सूत्रमा बाँध्ने अग्रणी भूमिका खेल्ने भएकाले तीज पर्वलाई अझ अर्थपूर्ण रूपमा मनाउन सबैलाई आह्वानसमेत गरे ।
उनको भनाइमा, तीजले नेपाली महिलाको आत्मबल, धैर्य र समर्पणलाई उजागर गर्दै समाजलाई सहिष्णु, सहअस्तित्वपूर्ण र सामूहिक भावनामा जोड्ने कार्य गर्दै आएको छ । सभापति देउवाले तीजको अवसरमा महिला अधिकार र समानताको सवालमा सबै संवेदनशील बन्नुपर्नेमा पनि जोड दिएका छन् ।