काठमाडौँ – २०८२ असार मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको असार मसान्तमा रहेको ३५ खर्ब ५३ अर्बभन्दा करिब ११ खर्ब बढी हो।
समीक्षा अवधिमा नेप्से सूचकाङ्क २२४०.४१ बाट बढेर २७९४.७९ पुगेको छ भने सूचीकृत कम्पनीहरूको सङ्ख्या २७० बाट बढेर २७२ भएको छ। तीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा ठूलो अर्थात् ५४.१ प्रतिशत छ।
आर्थिक वर्ष २०८१/८२ मा ८३ अर्ब १९ करोड बराबरको नयाँ धितोपत्र सूचीकृत भएका छन्। त्यस्तै नेपाल धितोपत्र बोर्डले ४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको जनाएको छ।