भारत र चीनले नेपाल भित्र पर्ने लिपुलेक पासमार्फत व्यापार पुनः सुरु गर्ने सहमति गरेका छन् । हालै भारतीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय अधिकारीबीच यसबारे सहमति भएको हो ।
लिपुलेक नेपाल भित्र पर्छ भन्दै नेपालले यसअघि नै आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो । भारतले २०१५ मा लिपुलेक हुँदै व्यापारिक बाटो खोल्ने निर्णय गर्दा, २०१९ मा कालापानी क्षेत्र आफ्नो नक्सामा समेट्दा र २०२० मा त्यही मार्ग हुँदै सडक उद्घाटन गर्दा नेपालले विरोध जनाएको थियो । नेपालले २०२० मा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेको थियो ।
चीनले समेत २०२३ मा लिपुलेक भारतको नक्सामा देखाउँदा नेपालले आपत्ति जनाएको थियो । अब भारत–चीनबीच भएको यो सहमतिले पुनः विवाद चुलिन सक्ने देखिएको छ ।