विराटनगरका मनिष तिम्सिनाले नेपाली फुटबल इतिहासमा नयाँ अध्याय रचेका छन् । उनले अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीका गोलकिपिङ प्रशिक्षकको रूपमा नियुक्त भएर दोस्रो देशको राष्ट्रिय टोलीमा प्रशिक्षक बन्ने पहिलो नेपालीको कीर्तिमान बनाएका हुन् ।

३७ वर्षीय तिम्सिना हाल अफगानिस्तान टोलीसँग प्रशिक्षणका लागि ताजिकिस्तानमा छन् । अफगानिस्तान यसै महिनाको सेन्ट्रल एसियन फुटबल एसोसिएसन (CAFA) नेसन्स कपमा सहभागी हुँदैछ, जहाँ उनीहरूको समूहमा ताजिकिस्तान, इरान र भारत रहेका छन् ।

तिम्सिनाको यात्रा निकै प्रेरणादायी छ । निरन्तर चोटका कारण खेलजीवन छोट्याएर उनले २०६८ सालदेखि प्रशिक्षकको बाटो रोजे । एएफसीको सी लाइसेन्सबाट सुरु गरेको प्रशिक्षण यात्रामा उनले बी र ए लाइसेन्ससम्म उक्लिँदै २०८० सालमा एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बने । यसअघि उनले भारतको आइलिग क्लब गोकुलम केरला तीन वर्षसम्म गोलकिपिङ प्रशिक्षक भएर उपाधि जित्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका थिए ।

तिम्सिनाले नेपाल राष्ट्रिय फुटबल टोलीसँग पनि छोटो समय काम गरेका थिए । विश्वकप छनोट तयारीका क्रममा उनी राष्ट्रिय टोलीको गोलकिपिङ प्रशिक्षक बने तर लामो समय टिक्न सकेनन् । यद्यपि, उमेरले अझै प्रशिक्षण यात्रामा लामो बाटो बाँकी छ भन्ने संकेत उनले दिइसकेका छन् ।

स्थानीय क्लबहरू सम्राट स्पोर्टिङ र मोतिराम स्पोर्टिङबाट सुरु भएको उनको फुटबल जीवन बी–डिभिजन हुँदै ए–डिभिजन क्लबहरू र भारतका विभिन्न क्लबसम्म फैलिएको थियो । त्यसपछि प्रशिक्षकको रूपमा मोरङ फुटबल क्लब, महिला टोली र प्रदेशस्तरका भूमिकामार्फत अनुभव बटुलेका उनी अहिले अन्तर्राष्ट्रिय स्तरमा अर्को इतिहास बनाउन पुगेका छन् ।

मनिषको यो उपलब्धिले नेपाली फुटबल प्रशिक्षकको सम्भावना र क्षमता विश्वसामु उजागर गरेको छ ।

70
Shares
४ भाद्र २०८२, बुधबार ११:५१