विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त रहेका तीनवटै संकायमा नयाँ डिन नियुक्त गरेको छ। नियुक्त भएका तीनै जना डिनले आइतबार पदभार ग्रहण गरेका छन्।
को को नियुक्त भए?- कला, शिक्षा तथा कानुन संकायको डिनमा जनसंख्या विकास केन्द्रका सहप्राध्यापक डा. कोमल प्रसाद दुलाल नियुक्त हुनुभएको छ।
- विज्ञान तथा प्रविधि संकायको डिनमा विश्वविद्यालयकै आङ्गिक क्याम्पस कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा कार्यरत प्रा. डा. पवन कुमार झा नियुक्त हुनुभएको छ।
- इन्जिनियरिङ संकायको डिनमा भने त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस पुलचोक इन्जिनियरिङ क्याम्पसमा कार्यरत प्रा. डा. भोलानाथ शर्मा घिमिरे लाई नियुक्त गरिएको छ।
पदभार ग्रहण समारोहमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया र रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले नयाँ डिनहरुको कार्यकालमा विश्वविद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे।
नवनियुक्त डिन डा. दुलालले आफ्नो २२ वर्षको प्राज्ञिक अनुभवलाई विश्वविद्यालयको शैक्षिक उन्नति र गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता गरे। त्यसैगरी, डिनद्वय झा र घिमिरेले पनि विश्वविद्यालयको शैक्षिक विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।समारोहमा उपकुलपति, रजिष्ट्रार लगायत चिकित्सा विज्ञान संकायका डिन डा. शैलेशमणि पोखरेल, पूर्व डिन राम प्रसाद ढकाल, प्राध्यापक संघका सभापति यज्ञ प्रसाद जम्मरकट्टेल र कर्मचारी संघका सभापति रुपेश बस्नेत लगायतको उपस्थिति थियो।