कात्तिक १५ देखि कात्तिक २२ गतेसम्म शिवसतासी नगरपालिका –११ स्थित नवनिर्मित दूधे रंगशालामा झापामा पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
महिला फुटबलको विकास, प्रवर्द्धन र ग्रामीण क्षेत्रमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ झापामा पहिलो पटक महिला गोल्डकपको आयोजना गर्न लागेको बताउँदै, अध्यक्ष थोप्राले भने, ‘यो प्रतियोगिता नेपालकै प्रतिष्ठित र लोकप्रिय हुनेछ । मोफसलकै सर्वाधिक पुरस्कार राशि राखिने भएकाले पनि लोकप्रिय हुने आशा गरेका छौँ । यस प्रतियोगिताले झापालाई महिला फुटबलको हबको रुपमा विकास गर्न ठुलो सहयोग पुग्ने छ ।’त्यस्तै, मस्ट भ्यालुएबल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट एक टोलीका साथ नेपालका ३ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल एपीएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिताको टुंगो लागी सकेको आयोजकले जनाएको छ ।त्यस्तै, भारत र भुटानको १–१ टोली तथा बाँकी २ टोली नेपालका ‘ए’ डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलाई सल्लाहकार संयोजक चयन गरिएको छ ।