बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा साहलाई सार्वजनिक गरिएको हो। धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार साहलाई बुधबार राति करिब साढे १० बजे क्षीरेश्वरनाथ–९ बाट पक्राउ गरिएको थियो। प्रहरीका अनुसार, साह यसअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँच वर्ष सजाय काटी २०७७ सालमा रिहा भएका व्यक्ति हुन्।
रामबाबु साहले सोमबार राति करिब साढे ११ बजे खुकुरी प्रहार गर्दा १५ वर्षीया अञ्जली कुमारी यादवको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा अञ्जलीकी आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका-१, ढल्केवर बस्ने होविन्द्र यादवकी १४ वर्षीया छोरी राशा यादव घाइते भएका छन्। आशा यादवको धरानस्थित बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।प्रहरी अनुसन्धानबाट अञ्जलीको हत्याको मुख्य कारण उनकी आमा आशा यादव र रामबाबु साहबीचको सम्बन्ध देखिएको छ। प्रवक्ता सिंहका अनुसार, साह जेलबाट रिहा भएको १–२ महिनापछि दोस्रो विवाह गरी गाउँमै बस्दै आएका थिए। सोही क्रममा मदिरा पसल चलाउँदै आएकी आशासँग उनको चिनजान भई प्रेम सम्बन्धमा परिणत भएको थियो।
“आशाको श्रीमानलाई दुवैको अवैध सम्बन्धबारे थाहा भएपछि गाउँमा छलफल भएको थियो। सो क्रममा आशा रामबाबुसँग बस्ने सहमति भयो,” प्रवक्ता सिंहले भने, “श्रीमानले नै दुई छोरा र एक छोरीको हेरचाह गर्ने सहमति भएपछि दुवैजना छुट्टाछुट्टै बस्दै आएका थिए।”प्रहरी समक्ष दिएको बयानमा रामबाबुले आशाको आर्थिक अवस्था सुध्रिँदै गएपछि उनी आफूसँग टाढिन थालेको र पुरानै श्रीमानसँग नजिकिन थालेपछि हत्याको घटना निम्त्याएको बताएका छन्। आशाले आर्थिक अवस्था सबल भएपछि रामबाबुको फोन नउठाउने, जनकपुरमा डेरा सारेको जानकारी नदिने, र रामबाबुकी श्रीमतीलाई म्यासेज गरी घरमा झगडा लगाइदिने जस्ता कार्यहरू गर्दै आएको साहले बयान दिएका छन्।
घटनाभन्दा करिब २ महिनाअघि रामबाबुले आशालाई जीविकोपार्जनका लागि एउटा अटो किनिदिएका थिए। तर, आशाले त्यो अटो आफ्नो भाइको नाममा नामसारी गराएको र रामबाबुसँग बस्ने कोठा सारेर श्रीमानलाई समेत ल्याएको अनुसन्धानबाट खुलेको छ।
घटना भएको रात पनि रामबाबुले पटकपटक आशालाई फोन गर्दा उनले फोन नउठाई छोरी अञ्जलीलाई दिएकी थिइन्। एकपटक कुरा भएपछि गालीगलौज भएको र सोही रिसमा आएर रामबाबुले घरबाटै खुकुरी लिएर आई आशा बस्ने कोठामा प्रहार गरेको प्रहरीले जनाएको छ।