कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान समयमा निजी क्षेत्रले उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो रकम खर्च गर्नुपर्दा अन्य व्यवस्थापनमा कठिनाइ सिर्जना भइरहेको बताए। उनले लामो समयदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि संगठनले सरकारसमक्ष पहल गर्दै आए पनि खासै प्रगति नभएकोमा चिन्ता व्यक्त गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्षलाई यस विषयमा पहल गर्न आग्रह गरे। राठीले देशमा औद्योगिक उत्पादनभन्दा व्यापारमा आधारित अर्थतन्त्रले प्रश्रय पाएको भन्दै स्पष्ट नीतिगत ढाँचा, सहुलियत र आवश्यक पूर्वाधारसहितको औद्योगिक क्षेत्र स्थापना भए लगानीकर्ताहरू आकर्षित हुने धारणा राखे।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तले गजेन्द्र नारायण औद्योगिक क्षेत्रभित्र मझौला तथा साना उद्योगका लागि ८९.९१ रोपनी जग्गा विकसित गरिएको जानकारी दिए। उनले यस क्षेत्रभित्र न्यूनतम ५ रोपनीदेखि अधिकतम ८ रोपनीसम्मका प्लटहरू उपलब्ध रहेको, कालोपत्रे सडकको व्यवस्था भएको, २४ सै घण्टा बिजुली आपूर्तिको सुविधा रहेको र छुट्टै सब-स्टेसनको व्यवस्था भएको जानकारी गराए। उद्योग प्रयोजनका लागि ४० वर्षको लिज सम्झौता गर्न सकिने पनि उनले बताए।हाल १२ वटा विभिन्न उद्योग सञ्चालनमा रहेको यस औद्योगिक क्षेत्रमा उद्योगको मिल मेसिनरी वा स्थिर सम्पत्ति बैंक वा वित्तीय संस्थामा राखी कार्यालयको सिफारिसमा कर्जा लिन सकिने पन्तले स्पष्ट पारे। उनले जमिनको भाडा प्रति रोपनी प्रति वर्ष १३ हजार ८ सय एकानब्बे रुपैयाँ ५० पैसा तय गरिएको बताए। मझौला र साना उद्योग स्थापनाका लागि प्रचुर सम्भावना रहेको यस औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि उनले उद्योगी व्यवसायीहरूलाई अनुरोध गरे।
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनिष कुमार मिश्रले जग्गा र भवन बहालमा लिन इच्छुक उद्योगी व्यवसायीहरूले साउन २१ गतेसम्म (अगस्ट ६, २०२५) प्रस्ताव पेश गर्न सक्ने बताए। उनले उद्योगले कुनै कारणवश क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएमा भाडामा लिएको जग्गामा उद्योग आफैंले निर्माण गरेको भवन तथा भौतिक संरचना, मिलमेसिनरी जस्ता सम्पत्तिहरू स्वीकृति लिएर अन्य उद्योगलाई स्वामित्व हस्तान्तरण गरी बेचबिखन गर्न सकिने जानकारी गराए।अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, सुन्दरहरैचा, झुम्का उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च विराटनगरका प्रतिनिधिहरू, उद्योग संगठनका कार्यसमिति सदस्यहरू र अन्य उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।