अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । गोली चलाउने २७ वर्षीय युवकले आफैंलाई पनि गोली हानेका छन् ।
ती युवक लासभेगासका रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको फोटोमा उनी लामो बन्दुक बोकेर भवनभित्र छिर्दै गरेको देखिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनी भवनको लबीमा पुग्नासाथ अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए ।
सुरुमा उनले न्यूयोर्क पुलिसका एक अधिकृतमा माथि गोली चलाएका थिए । त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि पनि उनले गोली हानेका थिए । प्रहरी अधिकारीहरु त्यहाँ किन थिए भन्ने पूर्ण जानकारी आइसकेको छैन । तर प्रहरी आयुक्त जेसिका टिसका अनुसार त्यहाँ दुई जना प्रहरीहरु ‘पेड डिटेल’मा नियुक्त भएका थिए ।
‘पेड डिटेल’ कार्यक्रम अन्तर्गत निजी कम्पनीहरुले थप सुरक्षाका लागि युनिफर्मसहितका प्रहरीलाई भाडामा लिन सक्दछन् । गोली चलेको ६३४ फिट अग्लो भवनमा नेशनल फुटबल लिग, ब्ल्याकस्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू छन् ।