विराटनगर । मोरङमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८१-०८२ मा ५ करोड ५६ लाखभन्दा बढीको तस्करीका सामान बरामद गरेको छ। यो अघिल्लो वर्षभन्दा पाँच गुणा बढी हो।

प्रहरीले बरामद गरिएका सामान भन्सार वा राजस्व अनुसन्धान कार्यालयमा बुझाउँछ। असोज महिनामा सबैभन्दा धेरै १ करोड ६७ लाखभन्दा बढीको सामान नियन्त्रणमा लिइएको थियो, जुन चाडपर्वको समय भएकाले तस्करी बढेको संकेत गर्छ।

खुला सिमानाका कारण हुने अवैध ओसारपसार नियन्त्रण गर्न मोरङ प्रहरीले विशेष टोली परिचालन गरेको छ र विभिन्न युनिटले महत्वपूर्ण भूमिका खेलिरहेका छन्। प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार सुरक्षा निकायको समन्वय, सूचनामा आधारित निगरानी र नियमित चेकजाँचले सफलता मिलेको छ।

नेपालबाट भारततर्फ हरियो मटर, स्याउ, सुपारी, लसुन, मदिरा जस्ता सामान र भारतबाट नेपालतर्फ लत्ताकपडा, किराना, गुट्खा, पार्टपुर्जा, औषधि, खाद्यान्न लगायतका वस्तुको तस्करी हुने गरेको छ। रानी, बखरी, कर्सिया लगायतका मोरङका १२ भन्दा बढी नाका तस्करीका लागि चिनिन्छन्।

प्रहरीले सूचना संकलन, विशेष चेकिङ र समुदायसँगको सहकार्यमा तस्करी नियन्त्रण अभियानलाई तीव्र पारेको छ। पछिल्लो समय भारतबाट आउने अवैध औषधि, खाद्य सामग्री र कपडाको मात्रा घटेको छ भने नेपालबाट भारत पठाइने सुपारी, गुट्खा, मदिरा र सुन चाँदी नियन्त्रणमा लिइएको छ।

एसपी चिमरियाका अनुसार तस्करी नियन्त्रणले राज्यको राजस्व वृद्धि र सुरक्षा मजबुत भई आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्छ।

42
Shares
१२ श्रावण २०८२, सोमबार १५:५८